राजनीति

माधव नेपाल भन्छन्: ८४ मा एकीकृत समाजवादी पहिलो शक्ति बन्न सक्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी २०८४ सालको आम निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन्।

उनले जनताको मन र विश्वास जित्दै पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न अहिलेदेखि नै तयारीमा जुट्न नेता-कार्यकर्तालाई निर्देशन दिए।

शनिबार राजधानीमा आयोजित समाजवादी प्रेस संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले चुनाव जित्नका लागि राजनीति गर्ने नभई समाज रूपान्तरणका लागि राजनीति गर्नुपर्नेमा जोड दिए।

उनले भने- ‘आगामी २०८४ को चुनावको निम्ति अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ। हामी पनि यहाँ एउटा महत्त्वपूर्ण शक्तिको रूपमा छौँ र पहिलो नम्बरको शक्तिको रूपमा हामी स्थापित हुन सक्छौँ। यदि हामीसँग मन र भावना मिलेकाहरू सँगसँगै जान्छन् भने, पहिलो शक्तिको रूपमा हाम्रो यो पार्टीलाई स्थापित गर्न सक्छौँ।’

अध्यक्ष नेपालले राजनीतिकर्मीको मुख्य कर्तव्य जनतासँग जोडिनु, उनीहरूको विश्वास जित्नु र संगठन विस्तार गर्नु भएको सुनाए।

उनले राजनीतिलाई परीक्षासँग तुलना गर्दै भने, ‘पढाइको उद्देश्य ज्ञान प्राप्त गर्नु र परीक्षामा सफल हुनु दुवै हो। ज्ञान मात्रै प्राप्त गरेर हुँदैन, परीक्षामा फेल हुनुभयो भने के गर्ने ? त्यसैले राजनीतिमा पनि जनताको सेवा गर्ने र चुनाव जितेर देखाउने दुवै काम गर्नुपर्छ।’

उनले राम्रो काम गर्दागर्दै पनि जनताले भोट नदिए त्यसको कुनै अर्थ नहुने भन्दै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए। ‘राम्रो काम त गरिएको छ, तर जनताले भोटै दिँदैनन् भने तपाईंलाई कसैले पत्याउँछ ? शक्ति नभएकोलाई कसैले पत्याउनेवाला छैन,’ उनले भने।

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई बलियो बनाउने र विचार मिल्ने अन्य वामपन्थी शक्तिहरूसँग एकता गर्दै अघि बढ्ने पार्टीको नीति रहेको पनि स्पष्ट पारे।

‘हामी एक्लै मात्रै हुने भनिरहेका छैनौँ, तर नमिल्नेबित्तिकै रोएर बस्नेवाला पनि छैनौँ। हामी आफ्नो शक्तिमाथि विश्वास गर्छौं,’ उनले थपे।

प्रकाशित: १४ भाद्र २०८२ १६:३७ शनिबार