एमालेबाट विभाजित भएको तीन वर्षमा नेकपा एकीकृत समाजवादी र माओवादीमा एकीकरण हुने कि त्यही पार्टी निर्माण गरेर बस्नेमा दोधारमा छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादीसँग एकीकरण गर्ने प्रस्ताव गरिसकेका छन भने झलनाथ खनाल, घनश्याम भूसाल लगायतका नेताहरु एमालेमा फर्किने कि त्यही पार्टी पुर्नगठन गरेर बस्ने भन्नेमा दोधारमा छन् ।
महासचिव घनश्याम भूसाल अहिले पनि त्यही पार्टी पुर्नगठन गरेर जानुपर्ने पक्षमा छन् । किसान श्रेष्ठ, भानुभक्त जोशी, प्रेम आले, धनबहादुर बूढा लगायतका नेता एमलोमा जानेगरी खुट्टा उचालेर बसेका छन् । महासचिव भूसालले पार्टी एकीकरण गर्ने हो भने पनि प्रचण्ड र नेपालले नेतृत्व छोड्नु पर्ने शर्त सारेका छन् ।
बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकमा नेकपा एसका अध्यक्ष नेपालले एमालेमा नजाने र नेतृत्व पनि नछाड्ने स्पष्ट पारेका छन् । माओवादीसँग पार्टी एकीकरण गर्ने गरी निर्णय लिन आयोजित केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले एमाले नजाने स्पष्ट पारेका छन् ।
उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि आफुहरुलाई अपमान गरिरहेका कारण त्यो पार्टीमा जानेहरुलाई रामराम मात्रै भन्न सकिने बताएका थिए । तर झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाक्री लगायतका नेताहरु भने त्यही पार्टी पुर्नगठन गर्ने तर माओवादीमा नजाने अडानमा छन् ।
अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमै माओवादीसँग मिल्न लागेको संकेत गरेका छन् । पार्टी पुनर्गठन गर्दा कायम गरिएको केन्द्रीय कमिटीको प्रथम बैठकबाट नै ‘वामपन्थी शक्तिहरूबिच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हो’ भन्ने प्रस्ताव पारित गरेको उल्लेख गर्दै पार्टी एकीकरण गर्न लागेको उल्लेख गरेका छन् ।
‘हाम्रो यही घोषित नीति अनुसार नै हामीले अहिलेको समाजवादी मोर्चा निर्माणमा जोड गरेका हौँ र त्यसमा संलग्न रहेर काम गर्दै आएका हौँ । समाजवादी मोर्चा मार्फत गरिएका काम पर्याप्त नहुन सक्छन् तर यसले कतिपय अत्यन्त महत्वपूर्ण काम गरेको छ । उदाहरणको लागि २०८१ चैत १५ गते भृकुटी मण्डपमा आयोजित प्रतिगमन विरोधी जन प्रदर्शनलाई लिन सकिन्छ । तसर्थ यस प्रकारको मोर्चाको महत्व छ भन्ने कुरा विर्सनु हुँदैन । वाम एकताको सम्बन्धमा पनि हामीले सुरुदेखि नै क्रान्तिकारी कम्युनिष्टहरू, खासगरी समाजवादी कार्यदिशा र कार्यक्रम अँगालेका कम्युनिष्ट घटकहरूबिच एकता हुनुपर्ने कुरामा जोड दिदै आएका छौँ’, उनले आफ्नो प्रतिवेदनमा भनेका छन् ।
उनले समाजवादी समाजवादी क्रान्ति सम्पन्न गर्नका निम्ति एउटा बलियो क्रान्तिकारी शक्तिको अवश्यकता पर्ने उल्लेख गर्दै एकताको वातावरण बनाउने गरी राजनीतिक प्रतिवेदन पेश गरेका छन् । माधव नेपाल पक्षधरका नेताहरु ९९ प्रतिशत नेताहरु माओवादीसँग एकता गर्ने पक्षमा रहेको दावी गर्दै आएका छन् । नेपालको प्रतिवेदन पनि त्यही अनुसार आएको छ ।
‘बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबिचको एकताबाट नै हुन सक्तछ । तथापी स्पष्ट आधार निर्माण नभइकन पार्टी एकता हुन सक्तैन । पार्टी एकता हुनका लागि सबभन्दा पहिले पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता मूलभूत विषयमा एकरूपता हुनुपर्दछ’, अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन् ।
बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकमा नेतृ रामकुमारी झाक्रीले पार्टी एकीकरणकै लागि केन्द्रीय सदस्यहरु थप गरेको भन्दै आपत्ति जनाइसकेकी छिन् । महासचिव भूसालले पनि बिहीबारको बैठकमा खुलेर विरोध गरेका छन् । महासचिव भूसाल मात्र होइन, नेतृ झाक्रीलाई वरिष्ठ नेता खनालले समेत साथ दिएपछि पार्टी विभाजन हुने संकेत देखा परिरहेको छ ।
प्रकाशित: १३ कार्तिक २०८२ १४:१४ बिहीबार