नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन रुस पुगेका छन्।
रूसी कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मस्कोतर्फ लागेका हुन्।
रुसमा सोमबार आयोजना हुने उक्त सम्मेलनमा नेता नेपालले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीका नेता ताजमोहम्मद मियाँका अनुसार पूर्वप्रधानमन्त्री नेपालले सम्मेलनमा विश्व कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, नेपालको अनुभव र समसामयिक राजनीतिक मुद्दाहरूमा आफ्नो धारणा राख्नेछन्।
भ्रमणका क्रममा नेता नेपालले रूसी कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभ लगायतका शीर्ष नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची तय भएको छ।
ती भेटघाटहरूमा नेपाल र रुसबीचको दशकौँ लामो मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ। साथै, दुई देशबीचको आर्थिक विकास, आपसी हित र साझा चासोका पक्षहरूमा समेत केन्द्रित रहेर संवाद हुने पार्टी स्रोतले जनाएको छ।
यस भ्रमण टोलीमा पूर्वप्रधानमन्त्री नेपालसँगै पार्टीका प्रवक्ता प्रकाश ज्वाला पनि सहभागी छन्। उनीहरूलाई बिदाइ गर्न पार्टीका उच्च तहका नेता तथा कार्यकर्ताहरू शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
पार्टीका अनुसार सम्मेलनमा सहभागी भएपश्चात् पूर्वप्रधानमन्त्री नेपाल नेतृत्वको टोली आगामी जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित: १० जेष्ठ २०८३ १७:०० आइतबार



