राजनीति

लुम्बिनी शान्ति, करुणासहित आध्यात्मिक अनुभूति गर्ने स्थल : मन्त्री पौडेल

विश्व शान्तिको मुहान तथा बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारबाट सुरु भएको छ।

सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्गराज पौडेल (गनेस)ले पानसमा दीप प्रज्वलित गर्दै लुम्बिनी शान्ति, करुणा सहित आध्यात्मिक अनुभूति गर्ने स्थलका रुपमा रहेको बताए।

मन्त्री पौडेलले लुम्बिनी कुनै देशको सीमाभन्दा माथि रहेको बताए। उनले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको भन्दै लुम्बिनीको संरक्षण र विकासका लागि सबै पक्षबिच सहकार्य आवश्यक रहेको बताए।

उनले लुम्बिनीको सम्पदा संरक्षणका लागि विश्व बैंकको साझेदारीमा ग्लाण्ड परियोजना अघि ढाईै लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनमा सरकार लागेको बताए।

‘लुम्बिनीलाई भ्रमण गर्ने गन्तव्यका रूपमा नभई बुद्धका शिक्षाको अनुभव गर्ने, शान्ति र करुणाको विकास गर्ने, ध्यान तथा सचेतनाको अभ्यास गर्ने र आध्यात्मिक एवं समग्र कल्याण अनुभूति गर्ने स्थलका रूपमा प्रस्तुत गर्नु पर्छ’ उनले भने।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले सम्मेलनले लुम्बिनी विकास कोष, युनेस्को, इकोमोस, विश्व बैंक, बौद्ध समुदाय, स्थानीय समुदाय, विज्ञ तथा विकास साझेदारबीच साझा समझदारी निर्माण गर्न सहयोग पुग्ने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयको सभा हलमा सुरु भएको सम्मेलनमा सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदायका प्रतिनिधि, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार र स्थानीय प्रतिनिधिसहित १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता रहेको छ।

समारोहमा लुम्बिनी प्रदेशका सांसद सीके गुप्ता, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानीन राई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, नेपालका लागि युनेस्को प्रतिनिधि जाको दु टोइट तथा विश्व बैंकका प्रतिनिधि इलाड सेनफेल्डलगायतले सम्बोधन गरेका थिए।

उनीहरूले बृहत्तर लुम्बिनी क्षेत्रको दिगो पर्यटन प्रवद्र्धन तथा सम्पदा संरक्षणका लागि सम्मेलन महत्त्वपूर्ण हुने बताएका थिए। सम्मेलनमा स्थानीय तहका प्रमुख तथा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको युनेस्को संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले बताइन्।

बृहत्तर लुम्बिनी क्षेत्रमा बुद्ध जन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोट दरबार, बुद्धकी आमा मायादेवीको माइतीघर देवदह, बुद्धको अस्थिधातु रहेको रामग्राम तथा पण्डितपुरलगायत महत्त्वपूर्ण पुरातात्त्विक तथा धार्मिक स्थलहरू रहेका छन्।

संघीय सरकारले विश्व बैंकको सहयोगमा अघि बढाएको ग्लाण्ड परियोजनाअन्तर्गत सम्मेलन आयोजना गरिएको हो। सम्मेलन असोज ४ गते साझा घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ।

लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो। विश्व सम्पदा समितिले सन् २०२६ मा लुम्बिनीको संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नेपाललाई थप काम गर्न आग्रह गरेको छ।

सम्मेलनमा विभिन्न ५ विषयका कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ। 

प्रकाशित: २ आश्विन २०८३ १८:४३ शुक्रबार