लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको छ। ८३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्ध गर्न ४२ मत आवश्यक पर्नेमा आचार्यले सहजै बहुमत जुटाएका हुन्।
मतदान प्रक्रियामा कुल ७१ सांसद सहभागी भएका थिए। प्रस्तावको पक्षमा परेको ४५ मत बहुमत भएकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरे।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
जसअनुसार एमालेका २९, नेकपाका १२ मध्ये ११, जसपा नेपालका ५ मध्ये ४ र राष्ट्रिय जनमोर्चाका १ सांसदले विश्वासको मतको पक्षमा मतदान गरे।
विपक्षी बेञ्चमा रहेका नेपाली कांग्रेस र जनमत पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ सांसद तटस्थ बसे।
केन्द्रले सरकारबाट फिर्ता हुन निर्देशन दिए पनि जसपा नेपालको प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन कायमै राख्दै पक्षमा मतदान गरेको थियो।
कुल ५ सांसद रहेको जसपा नेपालका ४ सांसदले विश्वासको मत नदिएको भए मुख्यमन्त्री आचार्यलाई बहुमत पुर्याउन कठिन हुने निश्चित थियो।
प्रदेश सभा बैठकमा आठ सांसद अनुपस्थित रहेका थिए। अनुपस्थित हुनेहरूमा अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा छन्।
अनुपस्थितमध्ये सत्तापक्ष नेकपाका एक सांसद विदेशमा रहेका कारण सहभागी हुन सकिनन् भने जसपा नेपालकी सांसद अम्बिका काफ्लेसमेत बैठकमा अनुपस्थित रहिन्।
प्रकाशित: १ भाद्र २०८३ १६:३८ सोमबार