राजनीति

राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशक समिति अध्यक्षबाट डा प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् ।  

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्बोधन गर्दै लोहनीले आइतबार राजीनामा पत्र बुझाएका हुन् ।  

राजीनामा लोहनीले चुनावमा राप्रपाको पराजय, पार्टीको आन्तरिक तथा अन्य विविध कारणले आफूलाई निराशाजनक बनाएको उल्लेख गरेका छन् ।  

उनले समयको मागलाई अनुकरण गर्दै पार्टीको निर्देशक समितिबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।  

राजीनामा पत्रमा लोहनीले लेखेका छन्, ‘हालै सम्पन्न आम चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीको निराशाजनक परिणाम, पार्टीको आन्तरिक तथा अन्य विविध कारणले मलाई स्तब्ध बनाएको छ ।’

नेतृत्व तहका पदाधिकारीले पनि मार्ग प्रशस्त गर्नुपर्ने उनको सुझाव छ । उनले भनेका छन्, ‘अहिलेको अवस्थामा पार्टीको नेतृत्व तहका जिम्मेवार पदाधिकारीले तत्काल मार्ग प्रशस्त गरी जनभावना अनुरूप तदर्थ समिति बनाए महाधिवेशनमा जानुपर्छ । महाधिवेशनले कुनै जिम्मेवारी दिएमात्र नत्र पदमा नरहनेगरी जिम्मेवारीबाट अलग भएको छु।’

फागुन २१ को निर्वाचन परिणामलाई लिएर पार्टी नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने आवाज राप्रपामा बुलन्द बन्दै गएको छ।

प्रकाशित: ८ चैत्र २०८२ १६:४७ आइतबार