स्थानीय तहमा सेवा प्रवाह गर्ने परम्परागत शैलीलाई प्रविधिमैत्री बनाउने प्रयाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न थालिएको छ।
नागरिकका सामान्य जिज्ञासाको सुनुवाइदेखि सेवा प्रवाह, आवश्यक कागजात, गुनासा दर्ता र फोनमार्फत सूचना उपलब्ध गराउनेसम्मका काममा एआईको प्रयोग गर्न थालिएको हो। यो नयाँ अभ्याससँगै स्थानीय सरकारको सेवा प्रवाह प्रविधिमैत्री बन्न थालेको छ ।
सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने प्रयाससँगै नेपालगन्ज उपमहानगरपालिकाले एआईमा आधारित असिस्टेन्ट अर्थात् सहायक सञ्चालनमा ल्याएको छ। पालिकाका सार्वजनिक सूचना तथा सेवाप्रवाहसँग सम्बन्धित जानकारी नागरिकलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको एआई असिस्टेन्ट अहिले परीक्षण चरणमा छ।
नागरिकले पालिकाबाट प्राप्त हुने सेवा, प्रक्रिया, त्यसका लागि आवश्यक कागजात, सार्वजनिक सूचना र अन्य सामान्य जानकारीका विषयमा एआई असिस्टेन्टमार्फत सोधपुछ गर्न सक्नेछन्। कार्यालयमा पुगेर कर्मचारीसँग जानकारी लिनुपर्ने वा फोन गरेर सोध्नुपर्ने अवस्था अन्त्य गर्न डिजिटल माध्यमबाटै सेवा उपलब्ध गराउने अभ्यासमा लागिएको उपमहानगरपालिकाले जनाएको छ ।
एआई प्रयोगसँगै स्थानीय सरकार प्रविधिमैत्री चरणमा प्रवेश गरेका छन्। बुटवल उपमहानगरपालिका एआई च्याटबोट सञ्चालनमा ल्याउने नेपालकै पहिलो पालिका भएको दाबी गरिएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सञ्चालनमा ल्याइएको च्याटबोटले सेवाग्राहीलाई पालिकाबाट उपलब्ध हुने विभिन्न सेवा र आवश्यक कागजातबारे जानकारी दिने उद्देश्य राखेको छ।
यसैगरी काठमाडौं महानगरपालिका–१७ ले नेपालमै पहिलोपटक एआईमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ। तोकिएको नम्बरमा फोन गर्दा एआई भ्वाइस असिस्टेन्टले सेवाग्राहीसँग स्वचालित रूपमा संवाद गरी जिज्ञासाको जवाफ दिने व्यवस्था गरिएको छ। एआईले समाधान गर्न नसकेका विषयमा भने फोन आफैं वडा कार्यालयका कर्मचारीकहाँ स्थानान्तरण हुने प्रणाली बनाइएको छ ।
ललितपुर महानगरपालिकाले पनि डिजिटल गभर्नेन्सलाई प्राथमिकता दिँदै एआईमा आधारित च्याटबोट सेवा अघि बढाएको छ। डिपिओ डटकम र युएनडिपीसँगको सहकार्यमा अघि बढाइएको यस्तो प्रणालीले स्थानीय सरकार र नागरिकबिचको दुईतर्फी सञ्चारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
ललितपुर महानगरपालिका–३ तथा रुकुम पश्चिमका स्थानीय तहले पनि फोन तथा टेक्स्टमा आधारित एआई प्रणालीमार्फत चौबिसै घण्टा सेवा जानकारी, आवश्यक कागजातको सूची तथा गुनासो दर्ता गर्ने अभ्यास थालेका छन्।
नेपालमा स्थानीय तह सेवा प्रवाहमा एआईको प्रयोग विस्तार भइरहेका बेला नेपालगन्ज उपमहानगरपालिकाले यसलाई आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ। नगर प्रमुख प्रशान्त विष्टका अनुसार समाज आधुनिक युगमा प्रवेश गरिसकेकाले नागरिकको सहजताका लागि एआई असिस्टेन्ट राखिएको हो।
सामान्य प्रकृतिका जिज्ञासा अब एआईमार्फत सोध्न सकिने र यसले नागरिकलाई सेवा लिन सहज हुने उनको भनाइ छ। ‘एआईको प्रयोग नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ। समाज आधुनिक युगमा प्रवेश गरेकाले नागरिकको सहजताका लागि एआईमार्फत असिस्टेन्ट राखिएको हो,’ विष्टले भने, ‘सामान्य कुराहरू अब एआईबाट सोधपुछ गर्न सकिने भएकाले नागरिकलाई सहज हुनेछ।’
स्थानीय तहमा एआईको प्रवेशसँगै यसको प्रभावकारिता र जोखिमबारे पनि प्रश्न उठ्न थालेका छन्। एआईले नागरिकलाई तत्काल सूचना दिन सके पनि उसले उपलब्ध गराउने सूचना सही हुन्छ–हुँदैन, अद्यावधिक र पालिकाको वास्तविक निर्णयसँग मेल खान्छ कि खाँदैन भन्ने विषय पनि उठेको छ। कानुन, कार्यविधि, शुल्क, आवश्यक कागजात वा सेवा प्रक्रियामा परिवर्तन भए पनि एआई प्रणालीमा समयमै विवरण अद्यावधिक नभए गलत सूचना नागरिकसम्म पुग्न सक्छ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मानबहादुर बम अहिले एआई असिस्टेन्ट प्रणाली परीक्षणकै क्रममा रहेको बताउँछन्। उनका अनुसार परीक्षण सफल भए नियमित सञ्चालनमा लैजाने तयारी छ। परीक्षण परिणाम हेरेर आगामी प्रक्रिया अघि बढाइनेछ। ‘अहिले हामी परीक्षणका क्रममा छौं। परीक्षण सफल भयो भने यसलाई नियमित गर्ने हो,’ बमले भने, ‘अहिले शाखाका विवरणहरू अपडेट भइरहेका छन्। एआईलाई नगरका विषयमा पूरा पढाउन बाँकी छ ।’
एआईलाई पालिकाका सेवा, शाखा, प्रक्रिया, ऐनकानुन र निर्णयबारे पर्याप्त जानकारी उपलब्ध नगराई सञ्चालन गर्दा नागरिकले गलत उत्तर पाउने सम्भावना रहन्छ। त्यसैले एआईलाई कर्मचारीको विकल्पभन्दा पनि कर्मचारीको कामलाई सहयोग गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने देखिन्छ। यसको अर्को महत्त्वपूर्ण जोखिम नागरिकका व्यक्तिगत विवरणको सुरक्षा हो।
नागरिकले फोन, च्याट वा गुनासो प्रणालीमार्फत आफ्नो नाम, ठेगाना, फोन नम्बर, कागजात तथा अन्य विवरण उपलब्ध गराउन सक्छन्। यस्ता सूचना कहाँ भण्डारण हुन्छन्, कसले पहुँचमा पुग्छन्, कति समयसम्म राखिन्छन् र तेस्रो पक्षले प्रयोग गर्न पाउँछ कि पाउँदैन भन्ने विषय स्पष्ट नहुँदा डिजिटल सेवामाथि नागरिकको विश्वास कमजोर हुन सक्छ।
त्यसैगरी एआईले सबै नागरिकलाई समान रूपमा सेवा दिन सक्ने अवस्था पनि चुनौतीपूर्ण छ। इन्टरनेट, स्मार्टफोन वा डिजिटल प्रविधिको पहुँच नभएका नागरिक परम्परागत माध्यममै निर्भर छन्। प्रविधिको प्रयोग बढाउँदा कार्यालयमा प्रत्यक्ष सेवा लिन चाहने वा डिजिटल ज्ञान कम भएका नागरिकलाई सेवाबाट वञ्चित हुने अवस्था आउन नदिन वैकल्पिक सेवा कायम राख्नुपर्ने हुन्छ ।
एआईको अर्को जोखिम जवाफदेहिताको प्रश्न पनि हो। एआईले गलत सूचना दिएर नागरिकलाई आर्थिक वा प्रशासनिक क्षति भयो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय महत्त्वपूर्ण छ। एआईले दिएको उत्तरलाई अन्तिम सरकारी निर्णय नमानिने र संवेदनशील विषयमा सम्बन्धित कर्मचारीबाट प्रमाणीकरण हुने व्यवस्था आवश्यक हुन्छ ।
जोखिमसँगै यसको फाइदा पनि छ। चौबिसै घण्टा सेवाबारे जानकारी उपलब्ध हुँदा कार्यालय खुल्नुपर्ने समय कुर्नुपर्ने बाध्यता घट्छ। एउटै प्रकृतिका प्रश्नमा कर्मचारीले पटकपटक जवाफ दिनुपर्ने समय बचत हुन्छ।
कर्मचारीलाई जटिल तथा निर्णय आवश्यक पर्ने काममा केन्द्रित हुन सहज हुन्छ। नागरिकले सेवा प्रक्रिया, आवश्यक कागजात, शाखा तथा सम्पर्कबारे घरबाटै जानकारी पाउन सक्छन्। एआईले भविष्यमा नागरिकलाई आफैं सम्पर्क गर्ने प्रणाली विकास गर्न सकिने सम्भावना पनि छ।
बमका अनुसार आवश्यकता हेरेर भविष्यमा सेवाग्राहीलाई एआई प्रणालीले आफैं कल गर्ने व्यवस्था पनि गर्न सकिनेछ। यस्तो प्रणाली प्रभावकारी रूपमा विकास भए कर तिर्ने समय, सेवा नवीकरण, कागजातको म्याद वा अन्य सार्वजनिक सेवासम्बन्धी सूचना नागरिकलाई समयमै पु¥याउन सकिनेछ ।
स्थानीय तहमा एआईको प्रयोग विस्तार भइरहँदा अब प्रश्न एआई राख्ने कि नराख्ने भन्नेभन्दा पनि कस्तो एआई, कुन उद्देश्यका लागि र कति सुरक्षित ढंगले प्रयोग गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ।
नागरिकको अधिकार, गोपनीयता र सरकारी सूचनाको विश्वसनीयतालाई केन्द्रमा राखेर एआई प्रणाली सञ्चालन गर्न सके यसले स्थानीय सरकारको सेवा प्रवाहलाई सरल र नागरिकमैत्री बनाउन सक्छ तर पर्याप्त परीक्षण, नियमित डेटा अद्यावधिक, मानवीय निगरानी र स्पष्ट जवाफदेहिताबिना एआई प्रयोग गरिएमा यो जोखिमको स्रोत बन्न सक्छ।
‘मानव अस्तित्वमै चुनौती बन्न सक्छ’
क्याम्ब्रिज विश्वविद्यालयका मेसिन लर्निङका प्राध्यापक नील लरेन्सले बिबिसी रेडियो–४ को ‘टुडे’ भन्ने कार्यक्रममा यो रिपोर्ट विश्वसनीय देखिएको बताएका छन्। उनका अनुसार अमेरिकामा एआई विकासलाई अमेरिका र चीनबिचको प्रतिस्पर्धाका रूपमा हेर्ने धारणा बलियो हुँदै गएको छ। ‘अमेरिका अन्य देशबाट निरन्तर विमुख हुँदै गएको छ,’ उनले भने, ‘त्यसैले अमेरिकी प्रशासनले आफ्ना केही साझेदार देशसँगको सहकार्य घटाउन खोजिरहेको हुन सक्छ ।’
सुपर इन्टेलिजेन्सको तयारी छैन
हुबिंगरले एक्समा लेखेका छन्, ‘हामी वास्तवमै मानव प्रजातिको अस्तित्वका लागि एआई खतरा बन्न सक्छ भन्ने विश्वास गर्छौं।’
उनको यो पोस्ट एक करोडभन्दा बढी पटक हेरिएको बताइएको छ। हुबिंगरले एन्थ्रोपिकले आफ्नातर्फबाट जोखिम कम गर्न सक्दो प्रयास गरिरहेको भए पनि ‘सुपर इन्टेलिजेन्स’ अर्थात् मानिसभन्दा अत्यन्तै बढी बौद्धिक क्षमता भएको एआईका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी अझै नभएको बताएका छन्। ‘हामीसँग सुपर इन्टेलिजेन्सका लागि एआई अलाइनमेन्टको समस्या समाधान गर्ने कुनै योजना छैन। न त हामी त्यस दिशामा स्पष्ट रूपमा अघि बढिरहेको देखिन्छ,’ उनले लेखेका छन्।
‘एआई अलाइनमेन्ट’ भन्नाले एआईलाई मानिसका मूल्य, नैतिकता र उद्देश्यअनुसार काम गर्ने गरी विकास गर्नु हो। सरल भाषामा भन्नुपर्दा एआईले मानिसले चाहेको उद्देश्यअनुसार नै काम गरोस् र आफ्नै छुट्टै उद्देश्य बनाएर गलत दिशामा नजाओस् भन्ने सुनिश्चित गर्नु एआई अलाइनमेन्टको मुख्य उद्देश्य हो ।
अनुसन्धानकर्ताको प्रमुख चिन्ता एआई मानवले चाहेभन्दा फरक दिशामा जान सक्ने सम्भावनाप्रति हो। अर्को चिन्ता एआई आफैंलाई सुधार गर्दै र आफ्नै प्रतिलिपि बनाउँदै स्वायत्त रूपमा अझ शक्तिशाली बन्न सक्ने सम्भावना हो। यस्तो सम्भावना ‘द टर्मिनेटरदेखि होराइजन: फोर्बिडन वेस्ट’ जस्ता विज्ञान कथामा समेत देखाइएको छ ।
एन्थ्रोपिकको रिपोर्ट के भन्छ?
गत अगस्टमा प्रकाशित एन्थ्रोपिकको सुरक्षा रिपोर्टमा कम्पनीले आफ्ना एआई मोडल कुनै शक्तिशाली संस्थाको इच्छाअनुसार गलत दिशामा जान सक्ने जोखिमलाई ‘कम’ मूल्यांकन गरेको थियो। यस्तो अवस्थामा एआई मोडलले कम्पनीको प्रणालीको दुरुपयोग गर्न वा त्यसमा हस्तक्षेप गर्न सक्ने रिपोर्टमा उल्लेख छ।
त्यसैगरी अत्यन्त सक्षम एआईले आफैं अनुसन्धान र विकास गर्न सक्ने सम्भावना पनि हाल ‘कम’ रहेको कम्पनीको आकलन छ। तर यस्तो क्षमता विकास भएमा एआईबाट ठुलो क्षति हुन सक्ने चेतावनी रिपोर्टले दिएको छ तर यो आकलनप्रति कम्पनीको विश्वास पहिलेको तुलनामा घटेको पनि रिपोर्टमा उल्लेख छ। ‘हामीले एआईको क्षमता तीव्र रूपमा बढ्न थालेका प्रारम्भिक संकेतहरू देखिरहेका छौं,’ रिपोर्टमा लेखिएको छ ।
एआई एजेन्टबाट साइबर आक्रमण
एआई क्षेत्रका धेरै विज्ञले लामो समयदेखि यो प्रविधिबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे चेतावनी दिँदै आएका छन्। सन् २०२३ मा ओपनएआई, गुगल डिपमाइन्ड र एन्थ्रोपिकका प्रमुखहरूले पनि एआईबाट हुनसक्ने जोखिमबारे चिन्ता व्यक्त गरेका थिए तर पछिल्ला केही सातामा यस्ता चेतावनी अझ गम्भीर बनेका छन्। यसको एउटा कारण एआईमाथि नियन्त्रण कायम राख्न कम्पनीहरूलाई नै कठिन हुन सक्ने संकेतहरू देखिनु हो ।
हालै एआई एजेन्ट साइबर आक्रमणमा प्रयोग भएका केही घटना सार्वजनिक भएका छन्। एआई एजेन्ट भनेको मानिसले निरन्तर निर्देशन दिइरहनु नपर्ने र केही काम आफैं गर्न अनुमति दिइएको प्रणाली हो।
ओपनएआई, एन्थ्रोपिक र मेटा कम्पनीले आफ्ना एआई प्रविधि ह्याकिङमा प्रयोग भएको जानकारी सार्वजनिक गरेका छन्। ओपनएआईका प्रमुख वैज्ञानिक याकुब पाचोकीले एआईको तीव्र विकासप्रति अत्यधिक सावधानी अपनाउन आग्रह गरेका थिए। भविष्यमा पनि एआईमा नियन्त्रण कायम राख्न थप हस्तक्षेप आवश्यक पर्न सक्ने चेतावनी उनले दिएका छन्।
पछिल्ला केही महिनामा एआई क्षेत्रका केही प्रमुख व्यक्तिले एआई विकासको गतिलाई केही कम गर्नुपर्ने बताएका छन्। यस्तो भन्नेमा एन्थ्रोपिकका प्रमुख डारियो अमोदेई र जेरेड क्याप्लान पनि छन्।
एआई कम्पनीमा काम गर्ने करिब एक हजार तीन सय कर्मचारीले एउटा खुला पत्रमा हस्ताक्षर गर्दै अमेरिकी सरकारलाई एआई विकासको सबैभन्दा उन्नत प्रविधिको गति नियन्त्रण गर्न आवश्यक प्राविधिक तथा प्रशासनिक व्यवस्था विकास गर्ने अन्तर्राष्ट्रिय प्रयासलाई समर्थन गर्न आग्रह गरेका छन्।
(बिबिसीबाट)
प्रकाशित: २६ भाद्र २०८३ ०८:३५ शुक्रबार