प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आगामी भदौ १० गते हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा यसबारे औपचारिक जानकारी गराएका हुन्।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ। नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा समय निर्धारण गर्नुपर्ने व्यवस्था छ।
सोही कानुनी व्यवस्थाबमोजिम सभामुख अर्यालले भदौ १० गतेका लागि प्रश्नोत्तरको समय तोकेका हुन्।
यसअघि सोमबारको बैठकमा सभामुख अर्यालले सीमा विवादसम्बन्धी विषयमा विपक्षी दलहरूले माग गरेको जवाफ दिन र संसदमा उपस्थित भएर प्रश्नोत्तरमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहका नाममा औपचारिक रुलिङ गरेका थिए।
प्रकाशित: १ भाद्र २०८३ १८:२९ सोमबार