राजनीति

साहित्यकार र कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। अध्यक्ष पुष्पकमल दाहालले उनीहरूलाई स्वागत गरेका हुन्। 

माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक महासंघ, एमाले निकट परिषद् सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगरसहित रहेका छन्।

अध्यक्ष दाहालले नवप्रवेशीलाई स्वागत गर्दै भने, ‘बधाई छ र पार्टी तथा आन्दोलनमा स्वागत गर्न चाहन्छु। अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ। यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन। यो परिवर्तनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईहरूको पार्टी प्रवेशले योगदान दिने छ।’

माओवादी केन्द्रको पहल र संघर्षका कारण स्थापित परिवर्तन सबैलाई थाहा भएको भए पनि माओवादी र को उचाइ बढ्छ भनेर केही मान्छेहरू त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उनले बताए।

उनले भने, ‘केही मान्छे माओवादी र को उचाइ बढ्छ भनेर चिन्तित छन्। तर हामीले तीनपटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौं। हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ।’

संस्कृति र कलाको महत्वबारे उल्लेख गर्दै दाहालले भने, ‘प्रधानमन्त्री हुँदा मेरो नेतृत्वको सरकारले गरेको पहलले सांस्कृतिक क्षेत्रलाई टेवा पुगेको छ। संस्कृतिमा शक्ति हुन्छ। यही मान्यतामा आधारित भएर कलाकारहरूलाई पार्टीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको हो। बदलिएको परिस्थितिमा फेरि पनि कलाकर्मीहरूलाई पार्टीमा जोड्नुपर्ने आवश्यकता महसुस गरिएको छ।’

कार्यक्रममा बोल्दै नवप्रवेशी ऋषिप्रसाद लामिछाने (गोर्खे साउलो)ले भने, ‘म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ। आन्दोलनका उतारचढावहरू देखेँ तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ। त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ।’

सो अवसरमा पार्टीले आगामी दिनमा धेरै क्षेत्रका व्यक्तिहरूलाई संगठित गर्ने र कलाकर्मी, साहित्यकार, संस्कृतिकर्मीहरूको योगदानलाई संस्थागत रूप दिन पहल गर्ने उनले जानकारी दिए।

प्रकाशित: २ श्रावण २०८२ १५:४३ शुक्रबार

#Prachand #NagarikNews #NepaliNews