राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले असन्तुष्ट पक्षका युवाहरूलाई गुण्डागर्दी र बाहुबल प्रदर्शन नगर्न चेतावनी दिएका छन्।
बुधबार युवा सङ्गठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएपछि अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन्।
उनले भने,‘तपाईँ युवाहरू नै पार्टीको भविष्य हो । पार्टीको भविष्यसँग तपाईँ हाम्रो भविष्य गाँसिएको छ । तपाईँहरू कसैको केटा होइन । हतियार होइन । कसैको जुठो कुरोमा रमाउने तत्त्व होइन्। मेरो आग्रह छ कसैलाई प्रक्रियामा चित्त बुझेको छ भने बन्द सत्रमा छलफल हुन्छ । प्रक्रियामा छलफल हुन्छ । चित्त नबुझेको कुराहरू छलफलबाट टुंगो लाग्छ । सहमति हुन नसके मतदान हुन्छ । तर गुण्डागर्दी र बाहुबलबाट चल्दैन । त्यो काममा अग्रसर नहुन म आग्रह गर्छु ।’
उनले सबैलाई शान्तिपूर्ण वातावरण बनाएर यो अधिवेशन प्रक्रियालाई अगाडि बढाउने छलफलबाट सबै कुरा टुंगो लगाउन सहयोग गर्न आग्रह पनि गरेका छन्।
झडप भएपछि अधिवेशन स्थगन भएको छ। लिङदेनले अधिवेशन स्थगन गरिएको घोषणा गरेका हुन्।
प्रकाशित: २८ श्रावण २०८२ १३:३७ बुधबार