राजनीति

पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर लागौँ: महासचिव पोखरेल

क्याप्शन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।  

नेकपा (एमाले) जिल्ला कमिटी दाङको जिल्ला प्रतिनिधि परिषद्लाई सम्बोधन गर्दै उनले पार्टी निर्माणका लागि सबैले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।  

महासचिव पोखरेलले एमालेमा बहुपद होइन एक पदको अवधारणा भएको र त्यसलाई कार्यान्वयन गर्दै सबैलाई अवसर प्रदान गरी सो अवसरको सफल प्रयोग गरिनुपर्ने बताए ।  

उनले भने, ‘पार्टीले मलाई के दियो होइन, मैले पार्टीलाई के  दिए भन्नेतिर ध्यान दिनुपर्छ । दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुपर्छ।’

महासचिव पोखरेलले पूर्वराष्ट्रपति  राजनीतिमा आउन नहुने बताए । ‘उहाँले सामाजिक काम जति पनि गर्न सक्नुहुन्छ, तर सक्रिय राजनीतिमा आउनु शोभनीय होइन । तीज आइरहेको छ, अगुवा महिला नेतासँग अस्ति दर खानुभयो, त्यो उहाँले गज्जब गर्नुभयो’ उनले भने ।  

महासचिव पोखरेलले राष्ट्रको विकास गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए । ‘एमाले र कांग्रेस सरकारमा भएपछि राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ’ उनले भने, ‘विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजना अघि बढेका छन् र सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन् ।’

यसैगरी महासचिव पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशनको तयारी भइरहेको पनि बताए । महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए ।

प्रकाशित: ७ भाद्र २०८२ १८:०९ शनिबार