नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आर्थिक विकासको मुद्दालाई राजनीतिक दल र सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ पुस्तकको विमोचन गर्दै उनले राजनीतिक आन्दोलन र बहसलाई अधिकारको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक विकाससँग जोड्न आवश्यक रहेको बताएका हुन्।
महामन्त्री पौडेलले आर्थिक विकासको मुद्दा राजनीतिक दल र सरकारको प्राथमिकतामा पर्न नसकेको उल्लेख गरे। राजनीतिक दर्शन, समाज र विद्यालयको पाठ्यक्रमलाई आर्थिक क्षेत्रसँग जोड्न नसक्दा समाजले आर्थिक उन्नयनका बारेमा पर्याप्त ज्ञान हासिल गर्न नसकेको उनको भनाइ छ।
उनले कृषि र औद्योगिकीरणको माध्यमबाट मुलुकको विकास गर्न ठोस कार्ययोजना र स्पष्ट नीतिसहित अघि बढ्नुपर्नेमा जोड दिए।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए। मुलुकको आर्थिक विकासका लागि सरकार आफैँ अग्रसर हुने नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
नेता पाण्डेले सरकारले सबै काम आफैँ गर्ने सोचका कारण विगतमा अपेक्षित विकास हुन नसकेको बताए। निजी क्षेत्रलाई पूर्वाधार विकासको जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो।
मुलुकको अर्थतन्त्र आयातबाट प्राप्त हुने राजस्वमा निर्भर रहेको भन्दै नेता पाण्डेले सरकारको ठूलो हिस्सा नियमित प्रशासनिक खर्च, कर्मचारीको तलब, पेन्सन, सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी तथा प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणमा खर्च हुने गरेको यथार्थ उल्लेख गरे।
प्रकाशित: १५ आश्विन २०८३ ०६:४८ बिहीबार