नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आआफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पुर्याउन पुनः अनुरोध गरेको छ।
देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज ५ः ०० बजेसम्म देशभर निरन्तर रहने जनाएको छ। साथै निषेधाज्ञा भोलि भदौ २६ गते बिहान ६ः०० बजेसम्म जारी रहने बताएको छ।
आन्दोलनको नाममा अझै अराजक व्यक्ति र समूहहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवं व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास गरिरहेका तथा गर्न सक्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो।
निषेधाज्ञाका बेला अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन) सञ्चालन हुन सक्नेछन्। आवश्यक सहजताको लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ।
आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने चेतावनी सेनाले दिएको छ।
साथै अवकाश प्राप्त सैनिक लगायत सुरक्षाकर्मी, सबै सेवाका राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकमा अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न अनुरोध गरिएको छ।
प्रकाशित: २५ भाद्र २०८२ १०:५४ बुधबार