पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भदौ १० गते आएको हिमाली महाविपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बेपत्ताहरूको खोजीलाई तीव्र पार्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
राष्ट्रिय शोकका अवसरमा सामाजिक सञ्जालमा लेख्दै भट्टराईले विपद्मा अमूल्य ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलि, बेपत्ताहरूप्रति गहिरो सम्मान तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले विपद्मा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र बनाउनुपर्ने र घरबारविहीन भएका नागरिकको पुनर्स्थापनामा विशेष ध्यान दिनुपर्ने बताए।
भट्टराईले विपद्को यस कठिन घडीमा सम्पूर्ण देश एकढिक्का भएर प्रभावित नागरिकको साथमा उभिनुपर्नेमा जोड दिएका छन्। उनले विपदबाट भएको क्षतिबाट मुलुकलाई पुनः उठाउन सामूहिक प्रयास आवश्यक रहेको बताउँदै देशलाई ‘फिनिक्स झैं’ पुनः उठाउने संकल्प गर्न आह्वान गरेका छन्।
'भाद्र १० को हिमाली महाविपत्तिमा आज राष्ट्रिय शोक! अमूल्य ज्यान गुमाउनुहुनेहरूप्रति हार्दिक श्रद्धाजली! बेपत्ताहरूप्रति गहीरो सम्मान! घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना! बेपत्ताहरूको खोजीलाई तीव्र पारौं! घरवारविहीनहरूको पुनर्स्थापनामा ध्यान दिऊँ!' उनले भनेका छन्, 'विपद्को घडीमा सम्पूर्ण देश एकढिक्का भएर पुनः फिनिक्स झैं उठौं!'
प्रकाशित: २२ भाद्र २०८३ ०८:०८ सोमबार