राजनीति

एकल नेतृत्वको सट्टा ‘लिडर्स काउन्सिल’ बनाऔं: सुमाना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमाना श्रेष्ठले परिवर्तनका पक्षधर शक्तिहरूलाई एकल नेतृत्वको अवधारणाबाट माथि उठेर सामूहिक नेतृत्वमा जान प्रस्ताव गरेकी छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पुराना दलहरूबाट राजनीतिक निकासको आशा गर्नु व्यर्थ रहेको बताएकी हुन्।

‘राजनैतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन सक्दैन भन्ने बुझाइ हामी सबैको हो,’ उनले लेखेकी छन्, ‘तर पुराना दलहरू ‘रिफर्म’ होलान् र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मूर्खता हो।’

श्रेष्ठले पटकपटक सत्तामा पुगेर पनि देशलाई निराशाबाहेक केही दिन नसकेका शक्तिहरू अहिले चुनावी समीकरणका लागि एकजुट हुन लागेको आरोप लगाइन्।

परिवर्तनको नारा दिएका शक्तिहरू भने नेतृत्वको विवादका कारण छिन्नभिन्न अवस्थामा रहेको उनको विश्लेषण छ। ‘परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न। त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ,’ उनले भनेकी छन्।

यो अवस्थामा परिवर्तन चाहने सबै व्यक्ति, समूह, वर्ग र क्षेत्रलाई समेट्न सक्ने सामूहिक नेतृत्व आवश्यक रहेकोमा उनले जोड दिएकी छिन्। श्रेष्ठले पार्टीलाई दिशा दिन एक जना नेताको सट्टा ‘लिडर काउन्सिल’ बनाउने अवधारणा अघि सारेकी हुन्।

उनले प्रश्न गरेकी छन्, ‘सबै समुह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरुलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामुहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि ? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् बनाए कस्तो होला ?’

कुनै एक व्यक्तिको अनुहारलाई अघि सार्नुको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुनुपर्ने उनको तर्क छ।

‘हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिँडेर बजारलाई ठिक्क नियमनमा राखी सम्बृद्धि ल्याउने सरकार हो,’ उनले उल्लेख गरेकी छन्। उनले यस्तो जनताको मुद्दा बोक्ने वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैलाई आग्रह गरेकी छिन्।

प्रकाशित: २० कार्तिक २०८२ १५:१० बिहीबार