राजनीति

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : मन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति लिएको बताएका छन् ।

आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारिएको बताए ।

उनले भने, ‘निजी क्षेत्रलाई उत्साहित नगरीकन यो अर्थतन्त्र अगाडि जाँदैन भन्ने हाम्रो पार्टीको अर्थ–राजनीतिक दर्शनअनुसार नै धेरै कुरा गरेको हो । यसमा कसैले लबिङ गरेर, मागेर होइन । खुलेर आउँ, ट्याक्स तिरौँ, गर्विलो नागरिक बनौँ। राज्यलाई पनि भरथेग गरौँ भनेर रेट घटाएर रेभिन्यु बढाउने सिद्धान्ततिर हामी गएका छौँ। निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेका हौं ।’

उनले आयकरको सीमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै लामो समयदेखि परिवर्तन नभएको कर संरचनामा सुधार गर्नुपर्ने धारणा राखे । साथै, एक खर्ब रुपैयाँभन्दा बढी बक्यौता विभिन्न शुल्क, दस्तुर, जरिवाना र ब्याजका कारण थुप्रिएको उल्लेख गर्दै व्यवसायीलाई राहत दिने व्यवस्था गरिएको बताए ।

प्रकाशित: ३ असार २०८३ १८:०८ बुधबार