राजनीति

तिहारमा आयात होइन, स्वदेशी फूल रोजौं: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारका अवसरमा बाहिरबाट फूल आयात गर्नुभन्दा स्वदेशमै उत्पादित फूलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके किसानको आम्दानी बढ्नुका साथै स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन हुने उनको भनाइ छ।

तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लीस्वारामा महिलाहरूले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीको सोमबार अवलोकन गर्दै महामन्त्री पौडेलले स्थानीय तहहरूलाई बजार व्यवस्थापनको जिम्मा लिन आग्रह गरे।

चाडपर्वका बेला फूलको माग उच्च हुने भएकाले स्थानीय किसानले उत्पादन गरेका फूल बजारसम्म सहज रूपमा पुर्‍याउने प्रबन्ध मिलाउनुपर्ने उनले बताए।

किसानले मेहेनतसाथ उत्पादन गरेको फूल बिक्री नभए व्यावसायिक खेतीप्रति वितृष्णा जाग्ने र किसान निरुत्साहित हुने चेतावनी दिँदै पौडेलले स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा सबै पक्षले ध्यान दिनुपर्ने बताए।

छिम्लीस्वारास्थित चण्डेश्वरी फलफूल तथा कृषक समूहमा आबद्ध २३ जना महिलाले गत वर्षदेखि सामूहिक रूपमा सयपत्री फूलखेती गर्दै आएका छन्। गाउँमै सामूहिक प्रयासबाट फूल उत्पादन थालेका महिलाहरूले यसलाई आत्मनिर्भरता र नियमित आम्दानीको स्रोत बनाउने लक्ष्य लिएका छन्।

अवलोकनका क्रममा समूहकी अध्यक्ष जितमाया रानाले व्यावसायिक खेतीलाई व्यवस्थित बनाउन आवश्यक पूर्वाधार र सिँचाइको प्रबन्ध गरिदिन महामन्त्री पौडेलको ध्यानाकर्षण गराइन्।

उनले फूलबारीसम्म पुग्ने सडकको स्तरोन्नति गर्नुपर्ने र खेतीका लागि देखिएको पानीको चरम अभाव तत्काल समाधान गर्न पहल गरिदिन माग गरिन्।

प्रकाशित: ९ कार्तिक २०८३ २०:५५ सोमबार