राजनीति

सांसद राई भन्छन्- प्रधानमन्त्री कलाकार मान्छे पनि हो, सायद पैसा दिएपछि आउनुहुन्छ कि

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई पैसा तिरेरै भए पनि प्रतिनिधिसभा बैठकमा ल्याउनुपर्ने भन्दै व्यंग्य गरेका छन्।

संसद्‌मा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै निरन्तर दबाब दिइरहँदा प्रधानमन्त्री शाह उपस्थित नभएपछि सांसद राईले यस्तो टिप्पणी गरेका हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री विगतमा कलाकार रहेको स्मरण गराउँदै उनलाई पैसाविना नआउने बानी परेको हुन सक्ने आरोप लगाएका छन्।

प्रधानमन्त्रीले संसद्‌लाई बेवास्ता गरेकोप्रति आक्रोश व्यक्त गर्दै उनले भने, ‘कम्तीमा के चिज रहेछ, जति महँगो भए पनि बरु तिरौँ न। उहाँ त कलाकार मान्छे पनि हो, सायदै पैसामा हिजोतिर हिँड्ने बानी भएर हो कि !’

संसद् बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुखलाई निरन्तर दबाब दिँदै आएका छन्।यसै सन्दर्भमा सांसद राईले सरकार जुनसुकै हालतमा देश र जनताप्रति उत्तरदायी हुनैपर्ने बताए।

सांसद राईले संसद्‌मा उठेका आवाजहरूलाई बेवास्ता नगर्न सभामुख डोलप्रसाद अर्याल र सत्तापक्षको ध्यानाकर्षण गराएका छन्। उनले भने, ‘यदि होइन भने देश र जनताप्रति उत्तरदायी हुनुपर्छ। एउटा सांसदले आवाज उठाउँदा प्रधानमन्त्री अथवा सरकारलाई रुलिङ हुनुपर्छ सभामुख महोदय, यो हजुरको गरिमाको कुरा पनि हो।’

प्रधानमन्त्री संसद्‌मा उपस्थित नहुँदा समग्र संसद् र सभामुखकै गरिमामाथि प्रश्न उठेको उनको जिकिर छ।

सदनको प्रत्यक्ष प्रसारण सिंगो देश र विश्वले हेरिरहेको भन्दै उनले सरकारका काम-कारबाहीप्रति जनताले समेत शंका गर्न थालेको बताए। वर्तमान सरकारलाई अप्ठ्यारो पर्दा आफूहरूले नै सहयोग गरेको दाबी गर्दै उनले सत्तापक्षलाई दम्भ नदेखाउन चेतावनी दिए।

सत्तापक्षका सांसदहरूलाई लक्षित गर्दै उनले भने, ‘अहिले जे चिज हुन्छ, त्यो चिज तपाईंहरूले नफेर्दा राम्रो, म सत्तापक्षका साथीहरूलाई अनुरोध गर्न चाहन्छु। हामीले हाम्रो प्रधानमन्त्रीको आवाजहरू जनताको बीचमा लान पाउनुपर्छ।’

प्रकाशित: १२ जेष्ठ २०८३ १९:१० मंगलबार