राजनीति

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताएका छन्।

काठमाडौंको गोकणेश्वर–३ मा आज आयोजित गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपालअन्तर्गत थपिएको कुलुङ भाषा प्रकाशन शुभारम्भ गर्दै मन्त्री खरेलले देश निर्माणको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

मन्त्री खरेलले उनले नेपाल विविध जाति, भाषा र समुदायले बनेकाले जातजातिको भाषा, वेशभुषा र संस्कृति यहाँको गौरव र पहिचान भएको बताए। उनले भने, 'समावेशी नेपाल नामक घर बनाउने अभियान सुरु भएको छ, गोरखापत्रमा कुलुङ भाषा पृष्ठ थपिनु एउटा इँटा थपिनु हो। यो अभियानमा सबैको हातेमालो चाहिन्छ।'

सरकार सबै समुदायको घरदैलोमा पुग्ने प्रयासमा रहेको र कुलुङ समुदायको कार्यक्रममा आज यहाँ पुग्नु पनि त्यही अभियान भएको उनले चर्चा गरे। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले घोषित (आगामी फागुन २१ गते) प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने र सुशासन प्रवर्द्धनमा दृढताका साथ अगाडि बढेको बताए। उनले भने, 'जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने तथा मुलुकमा सुशासन प्रवर्द्धन, रोजगारी सिर्जनालगायत विषयमा सरकार गम्भीरताकासाथ अगाडि बढेको छ। त्यसैले निर्वाचनलाई सफल बनाउन सबै नेपाीहरूको कर्तव्य हो।'

मन्त्री खरेलले निर्वाचन आफैँ लोकतन्त्रको आधारस्तम्भ र सुशासन कायम गर्ने अभियान भएकाले सबैको साथको खाँचो औँल्याए।

मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्रमा कुलुङ भाषाले स्थान पाउनु सो समुदायको पहिचान कायम हुनु हो भने। समावेशी नेपाल बनाउने अभियानमा यो पृष्ठ थप हुनु आफैँमा ऐतिहासिक काम भएको उनले बताए। आजको पत्रकारिता भोलिको इतिहास भएकाले पृष्ठलाई पठनीय बनाउन उनले सुझाव दिए।

सो अवसरमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले मन्त्री खरेललाई फेगा (कुलुङ समुदायको सांस्कृतिक पोसाक) लगाएर स्वागत गरे। 

प्रकाशित: १६ मंसिर २०८२ २०:३१ मंगलबार