राजनीति

राजनीतिक शक्ति एक ठाउँमा उभिएर उद्दार र राहतमा जुटौँ : दाहाल

नेकपाका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल र सरोकारवाला निकाय एकजुट भएर खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा जुट्नुपर्ने बताएका छन्।

बिहीबार बसेको सर्वदलीय बैठकमा उनले हाल देश गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको उल्लेख गर्दै राजनीतिक मतभेदभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले भने, ‘राष्ट्रिय संकटको सामना गर्न एकजुट बनौँ। अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। यस्तो अवस्थामा लामो बहस वा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्दार, राहतमा जुट्ने समय हो।’

यस्तो संकटका बेला लामो राजनीतिक बहसभन्दा नागरिकको जीवन रक्षा नै सबैभन्दा ठूलो दायित्व हुने बताउँदै उनले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी सामान्य प्राकृतिक घटना मात्र नभएको बताए।

उनले भविष्यमा यस्ता विपत्तिको जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन, प्राविधिक तयारी र दीर्घकालीन राष्ट्रिय रणनीति आवश्यक रहेको बताए।

उनले तत्काल खोजी, उद्धार, उपचार, राहत र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार, राजनीतिक दल र सम्बन्धित निकायबीच साझा कार्ययोजना र समन्वय अपरिहार्य रहेको उल्लेख गरे।

उनले विगतका कोशी बाढी, जुरे पहिरो, २०७२ सालको भूकम्प तथा जाजरकोट भूकम्पजस्ता विपत्तिमा नेपाली समाज र राजनीतिक दलहरूले एकता देखाएको बताउँदैअहिले पनि त्यही भावना आवश्यक रहेको बताए।

यस्तै, उनले सबैले विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस् भनेर साझा संकल्प गर्नुपर्ने बताए।

प्रकाशित: ११ भाद्र २०८३ ११:५९ बिहीबार