राजनीति

ओली-लेखक पक्राउ: बन्दी प्रत्यक्षीकरण रिट निवेदनबारे कानुन व्यवसायीहरू छलफलमा

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्ने विषयमा कानुन व्यवसायीहरूबीच छलफल सुरु भएको छ।

आज शनिबार भएकाले भोलि आइतबार जिल्ला अदालत तथा सर्वोच्च अदालतमा रिट दर्ता गर्ने विषयका सम्बन्धमा दिउँसो २ बजे अधिवक्ताहरूले छलफल गर्न लागेका हुन्। बैठकमा नेपाल वार एसोसिएसन तथा विभिन्न अदालतसँग सम्बन्धित बार एसोसिएसनका पूर्वपदाधिकारीहरूको सहभागिता रहने छ।  उक्त बैठकमा दुवै नेताका लागि रिट तयार पार्ने, अदालतमा प्रस्तुत गर्ने तथा डिफेन्स टिम गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।  

गत भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरिएको हो। आयोगले दिएको सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने दबाबका बीच नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।  

प्रकाशित: १४ चैत्र २०८२ १३:०१ शनिबार