राजनीति

देशकै लागि वामपन्थी एकता अनिवार्य छ, तर टाउको जोडेरमात्र हुँदैन: झलनाथ खनाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुक संकट, अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेकाले वामपन्थी शक्तिबीच एकता अनिवार्य भएको बताएका छन्।

आइतबार राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारी ठगीको जालो’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले पछिल्लो समय वामपन्थी आन्दोलन कमजोर बन्दै गएको बताए।

‘अहिले वामपन्थी आन्दोलन धेरै कमजोर भयो। अहिले त न्यूनतम रूपमा एकताबद्ध भएर जाऔँ भन्ने संस्कृति पनि देखिएको छैन। त्यस हुनाले सबै वामपन्थीहरूको बीचमा एकता अनिवार्य छ,’ उनले भने।

वामपन्थी शक्ति कमजोर हुँदै जाँदा देश अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेको खनालको भनाइ थियो। उनले राष्ट्रिय मुद्दाहरू समाधान गर्न वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।

‘अहिले एकदमै अस्थिरता अनि अनिश्चयताको अवस्थामा देश आइपुगेको छ,’ खनालले भने, ‘कम्युनिस्ट आन्दोलनले सुरुदेखि आफूलाई भन्दै हामी सबैभन्दा बढी देशभक्तिपूर्ण आन्दोलन हौँ भनेर आएको हो र साँचो कुरा पनि हो, तर हामी आफैँले एकपछि अर्का गलत कार्यहरू, गलत सम्झौताहरू गर्न पुग्यौँ, त्यसले गर्दाखेरि देशको राष्ट्रियता गम्भीर मोडमा उभिन पुगेको छ।’

खनालले वामपन्थी एकता केवल नेताहरूबीचको समझदारी वा नेतृत्वको तहमा हुने समीकरणमा सीमित हुन नहुने बताए।

नीति, सिद्धान्त, आदर्श तथा स्पष्ट वैचारिक–राजनीतिक दिशाका आधारमा हुने एकता मात्रै दिगो हुने उनको भनाइ थियो।

‘एकता भनेको नीतिको आधारमा, सिद्धान्तको आधारमा, आदर्शको आधारमा एउटा सही वैचारिक–राजनीतिक दिशाको आधारमा मात्र एकता बनायौँ भने त्यो दिगो हुन्छ,’ खनालले भने, ‘वामपन्थी एकता भनेको टाउको जोडेर हुँदैन।’

 

प्रकाशित: ४ आश्विन २०८३ १८:१६ आइतबार