वामपन्ती नेता तथा पूर्वमन्त्री राधाकृष्ण मैनालीले देशका वर्तमान राजनीतिक दलका शीर्ष नेताहरू पूर्ण रूपमा असफल भएको र उनीहरूको नेतृत्वमा देशले प्रगति गर्न नसकेको टिप्पणी गरेका छन्।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै मैनालीले पञ्चायतकालदेखि गणतन्त्रसम्मका राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै नेताहरूको आचरण र कार्यशैलीका कारण देश बर्बादीतर्फ धकेलिएको बताए।
आफू अहिले कुनै पनि पार्टीको सांगठनिक जिम्मेवारीमा नरहे पनि वैचारिक रूपमा सक्रिय रहेको बताउँदै मैनालीले भने, ‘म वैचारिक रूपले अहिले पनि सक्रिय छु। पहिलेको जस्तो सांगठनिक राजनीतिमा छैन, तर देशको अवस्थाबारे मिडियामार्फत आफ्ना धारणा सार्वजनिक गरिरहेको छु। तर, नेताहरूले सुन्ने र आफूलाई सुधार्ने काम गरेनन्।’
गणतन्त्र आयो तर व्यवस्था र व्यवहार बदलिएन
मैनालीले राजनीतिक परिवर्तनहरू संस्थागत हुन नसक्दा जनताले धोका पाएको बताए।
‘पञ्चायतकाल दमनको काल थियो, तर त्यतिबेला जेल जीवन हाम्रा लागि स्कुलिङ बन्यो,’ उनले भने, ‘४६ सालको आन्दोलनपछि बहुदलीय व्यवस्था आयो, तर नेताहरूको व्यवहार निर्दलीय नै रह्यो।’
गणतन्त्र स्थापनापछि पनि अवस्थामा सुधार नआएको उनको भनाइ थियो। ‘गणतन्त्र शब्दमा आयो, व्यवहारमा आएन। आम मान्छेले सोचेका थिए, गणतन्त्र आएपछि गरिबी हट्छ, भ्रष्टाचार हट्छ, सुशासन आउँछ। तर, नेताहरू आलोपालो प्रधानमन्त्री बन्ने खेलमा लागे,’ उनले भने।
शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड र माधव नेपालजस्ता नेताहरूले देशलाई बन्धक बनाएको उनको आरोप थियो।
हालैको जेन-जी आन्दोलनलाई नेताहरूले धोका दिएको मैनालीले बताए। आन्दोलनको मुख्य माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको संवैधानिक सुधार भए पनि नेताहरूले त्यसलाई टारेर चुनावतर्फ मात्र ध्यान दिएको उनको विश्लेषण छ।
‘जेन-जी आन्दोलनको माग संविधान संशोधन थियो, तर सुशीला कार्कीको नेतृत्वमा सरकार बनाएर त्यो मागलाई तुहाइयो,’ उनले भने, ‘उनीहरूलाई डर छ कि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आयो भने आफ्नो खेल खत्तम हुन्छ।’
उनले थपे, ‘राजाले त ४६ सालमा जनताको आवाज सुनेर निर्दलीयता छोडे, ६३ सालमा गणतन्त्र स्वीकारे। तर, अहिलेका नेताहरूले जनताको आवाज सुन्नै चाहेका छैनन्।’
मैनालीले देशमा भ्रष्टाचार संस्थागत भएको र हरेक क्षेत्रमा राजनीतिकरणले जरो गाडेको उल्लेख गरे। ‘अहिले २१ वटा ठूला भ्रष्टाचारका काण्ड चर्चामा छन्, तर कुनै पनि छानबिन हुँदैन,’ उनले भने, ‘गिरिबन्दुदेखि नक्कली भुटानी शरणार्थीसम्मका काण्डमा नेताहरू मुछिएका छन्।’
सरकारी कर्मचारीदेखि प्राध्यापकसम्म पार्टीका कार्यकर्ता बनेको र राज्यको ढुकुटीबाट तलब खाएर पार्टीको काम गर्ने प्रवृत्ति मौलाएको उनको भनाइ थियो। यही निराशाका कारण ८०-८५ लाख युवा विदेशिन बाध्य भएको उनले सुनाए।
मैनालीले भने, ‘नेताहरू असफल मात्र होइन, उनीहरूले देशलाई नै असफल बनाउँदैछन्। यदि उनीहरू सुध्रिएनन् भने देशले अर्को ठूलो दुर्भाग्य भोग्नुपर्नेछ।’
प्रकाशित: १२ कार्तिक २०८२ १९:५२ बुधबार