नागरिक समाजका अगुवाहरले संविधान भित्रबाटै अन्तरिम सरकार गठन गर्न माग गरेका छन् । नागरिक समाजका २० अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको बृहत्तर दायरा भित्रैबाट आन्दोलनको भावना र नागरिक सर्वोच्चता स्थापित हुने गरी अन्तरिम सरकार गठन गर्न माग गरेका हुन् ।
नवयुवा उमेर समूह जेन–जीको शान्तिपूर्ण आन्दोलन अकस्मात र अनपेक्षित रूपमा हिंसात्मक बन्न पुगेकोमा चिन्ता व्यक्त गर्दै उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् । नागरिक अगुवाहरुले समस्या समाधानका लागि संवाद, परामर्श र छलफल नेपाली सेनाको जङ्गी अड्डामा नभई राष्ट्रपति कार्यालयमा गर्न पनि सुझाएका छन् ।
राजनीतिक, संवैधानिक र संक्रमणकालीन व्यवस्थाका बारेमा राष्ट्रपतिले अविलम्व जनताका नाममा सम्बोधन गरी प्रक्रिया अगाडि बढाउन उनीहरूले माग गरेका छन् ।
प्रधानमन्त्रीले राजीनामा दिए पनि अर्को प्रधानमन्त्री नियुक्त नभएको कारण देश सरकारविहीन र राजनीतिक रिक्तताको घडीबाट गुज्रिएको भन्दै उनीहरूले चिन्ता गरेका छन् ।
जेन–जी समूहका साथै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग समेत संवाद अगाडि बढाउन र ऐतिहासिक संविधानसभामार्फत बनेको संविधानको बृहत्तर दायराभित्रैबाट आन्दोलनको भावना र नागरिक सर्वोच्चता स्थापित हुने गरी अन्तरिम सरकार गठन गर्न उनीहरूले अपिल गरेका छन् ।
प्रकाशित: २६ भाद्र २०८२ २०:२२ बिहीबार



