बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबासँग गृहमन्त्रालयमा जारी छलफलमा कानुनमन्त्री सोविता गौतम पनि सहभागी भएकी छन्।
गृहमन्त्री सुधन गुरुङसहित गृहमन्त्रालयका अधिकारीहरूले यसअघि नै गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग घटनाको अनुसन्धान र परिवारको मागका विषयमा छलफल गरिरहेका थिए। छलफलमा कृषिमन्त्री गीता चौधरी पनि सहभागी छिन्।
गरिमाका परिवारसँगको छलफलमा कानुनमन्त्री गौतमसमेत सहभागी भएपछि घटनाको अनुसन्धान, दोषीमाथिको कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिलाउने विषयमा थप छलफल हुने बताइएको छ।
गरिमाका बुबा मनोज र आमा मानमती आजै दिउँसो सिमरा विमानस्थलबाट काठमाडौं आएका हुन्। उनीहरूसँगै घटनामा न्यायको माग गर्दै आएका केही स्थानीय अभियन्ता पनि काठमाडौं आएका छन्।
जीतपुरसिमरा–१ भक्तिनगरकी गरिमा साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। खोजीका क्रममा भदौ २ गते घरनजिकैको एक घरमा उनको शव फेला परेको थियो। घटनापछि बालिकाको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कडा कारबाही गर्न स्थानीय, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले माग गर्दै आएका छन्।
परिवारले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान, दोषीमाथि कडा कानुनी कारबाही तथा अनुसन्धानका क्रममा भएको भनिएको लापरबाहीबारे छानबिनको माग गर्दै आएको छ।
प्रकाशित: ६ भाद्र २०८३ २१:२१ शनिबार