राजनीति

गगन थापामाथि केदार कार्कीको गम्भीर आरोप: बाह्य शक्तिबाट सञ्चालित र आर्थिक रूपमा भ्रष्ट

नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापामाथि कडा आरोप लगाएका छन्। उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विगतमा गरेको टिप्पणी अहिले आएर सत्य सावित भइरहेको दाबी गरेका छन्।

बिपी स्मृति दिवसका अवसरमा कांग्रेसको इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले गगन थापा बाह्य शक्तिबाट सञ्चालित व्यक्ति भएको र आर्थिक रूपमा पनि भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाए।

उनले भने, “गिरिजाप्रसाद कोइरालाले त्यतिबेला गगन थापा कतैबाट सञ्चालित छन् भन्नुभएको थियो। आज त्यो कुरा प्रमाणित हुँदै गएको छ, नाङ्गो आँखाले देख्न सकिन्छ। त्यतिबेला गिरिजाबाबुको विरोधमा कपाल खौरेर प्रदर्शन गरिएको घटना पनि बिर्सन हुँदैन।”

कार्कीले गगन थापा र उनको समूहले ‘प्रष्ट कांग्रेस’ र ‘भ्रष्ट कांग्रेस’ भन्दै पार्टीभित्र विभाजनको प्रयास गरेको आरोपसमेत लगाए। उनले गगन थापाले कसरी र कहाँबाट मानिस परिचालन गरेर आर्थिक स्रोत जुटाउँछन् भन्ने विषय आफूहरूलाई जानकारी रहेको दाबी गरे।

यस्तै, गगन थापाको सिफारिसमा नियुक्त भएका एक उपकुलपतिले आत्महत्या गर्नुपरेको कारणसमेत आफूलाई थाहा रहेको भन्दै कार्कीले त्यसबारे थप टिप्पणी गरेनन्।

कार्यक्रममा उनले पार्टी नेतृत्वलाई आवश्यक परे नयाँ राजनीतिक दल गठनका लागि समेत तयार रहन आग्रह गरेका थिए।

प्रकाशित: ६ श्रावण २०८३ १४:३८ बुधबार