राजनीति

सुकुम्बासी समस्या फोहोर उठाएर फ्याँकेजस्तो तरिकाले हल हुँदैन : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीबाट हटाइएका वास्तविक सुकुम्बासीको दीर्घकालीन बसोबासको व्यवस्था हुन नसकेको बताएका छन्।

महिनौँ बितिसक्दा पनि उनीहरूको दिगो बसोबासको टुंगो लाग्न नसक्नु विडम्बनापूर्ण भएको उनको भनाइ छ।

'महिनौं बितिसक्दा पनि उपत्यकाका सुकुम्वासी वस्तीहरूबाट हटाइएका वास्तविक सुकुम्बासीहरूको दिगो बसोबासको टुंगो लाग्न नसक्नु बिडम्वनापूर्ण छ,' सामाजिक सञ्जालमार्फत उनले भनेका छन्।

यस्तै, भट्टराईले अल्पविकसित देशमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र धराशायी भएपछि वैकल्पिक रोजगारीका लागि सहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा सहरमा आवासविहीन अर्थात् सुकुम्बासी बन्ने गरेको उल्लेख गरेका छन्।

उनका अनुसार सुकुम्बासीहरूले सहरको सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा, ढुवानीलगायत क्षेत्रमा अत्यावश्यक श्रमसेवा प्रदान गरेर अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेका हुन्छन्।

'फोहोर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक–सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनैसक्दैन,' उनले भनेका छन्।

भट्टराईले संसारका सबै देश र सहरमा विकासको कुनै ऐतिहासिक चरणमा सुकुम्बासी समस्या उत्पन्न हुने गरेको भन्दै आधुनिक राज्यले त्यसलाई विधिसम्मत र न्यायसंगत ढंगले समाधान गर्नुपर्ने बताएका छन्।

सुकुम्बासी समस्यालाई सहरीकरणको क्रममा उत्पन्न हुने ऐतिहासिक प्रक्रियाका रूपमा स्वीकार गर्दै सहरभित्रै गरिबहरूका लागि सम्मानजनक आवासको व्यवस्था गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने उनको सुझाव छ।

'फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक-सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनैसक्दैन,' उनले भने, 'त्यसैले 'सुकुम्बासी' समस्यालाई शहरीकरणको क्रममा उत्पन्न हुने अनिवार्य ऐतिहासिक प्रक्रिया मानेर शहरभित्रै गरीबहरूलाई सम्मानजनक आवासको व्यवस्था गरेर दिगो ढंगले यो समस्या हल गरौं।'  

उनले यस्तो व्यवस्था नेपालको संविधान र समावेशी लोकतन्त्रको मर्मअनुरूप हुनेसमेत बताएका छन्।

प्रकाशित: ११ मंसिर २०८३ १०:०२ शुक्रबार