राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
छठ पर्व मनाउन जनकपुरधाम आएका लामिछाने दम्पतीले गङ्गासागरस्थित छठघाटमा आइतबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट उनीहरू ढाकी बोकी छठघाट पुगेका थिए। उनीहरू सँगै परिवारका अन्य सदस्य तथा शुभेच्छुक पनि छठघाट पुगेका थिए।
यसैबीच, आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइने यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ।
प्रकाशित: ३० कार्तिक २०८३ ०९:२१ सोमबार