राजनीति

जेन–जी आन्दोलन अध्ययन गर्न सर्वस्वीकार्य आयोगको अभाव

नेपाली कांग्रेसले भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययन तथा छानबिनका लागि सबै पक्षले स्वीकार गर्ने स्वतन्त्र उच्चस्तरीय आयोग गठन गर्न सरकार असफल भएको आरोप लगाएको छ।

बुधबार सार्वजनिक गरेको पार्टीको समसामयिक धारणापत्रमा कांग्रेसले भदौ २३–२४ को घटनाबारे गठित गौरीबहादुर आयोगको प्रतिवेदन अस्पष्ट, अपूर्ण र अधुरो रहेको भन्दै यसअघि नै आफ्नो असहमति सार्वजनिक गरिसकेको जनाएको छ। राष्ट्रिय मानव अधिकार आयोगले समेत घटनासम्बन्धी छुट्टै प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा त्यसप्रति सरकार मौन रहनु रहस्यमय भएको कांग्रेसको टिप्पणी छ।

कांग्रेसले सबै पक्षको विश्वास जित्ने उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न नसक्नु सरकारको नैतिक असफलता भएको दाबी गरेको छ।

धारणापत्रमा राष्ट्रिय मानव अधिकार आयोगले सरकारमै रहेका केही व्यक्तिको भूमिकाबारे थप अनुसन्धान गर्न तथा केहीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेको उल्लेख गर्दै आरोपित व्यक्तिहरू स्वयं सरकारमै रहँदा गरिने अनुसन्धान निष्पक्ष हुन नसक्ने तर्क गरिएको छ। यस्तो अवस्थाले सरकारी अनुसन्धान प्रक्रियामाथि गम्भीर शंका उत्पन्न गरेको कांग्रेसको भनाइ छ।

कांग्रेसले सरकारको व्यवहार आलोचित र सन्देहपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन दृढतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। साथै, घटनाका पीडितलाई न्याय, दोषीमाथि कानुनी कारबाही र निर्दोषको सम्मान सुनिश्चित हुने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिएको छ।

प्रकाशित: २० श्रावण २०८३ १९:५२ बुधबार