राजनीति

कुलमानले भने-अब कता जाने भन्ने लाग्थ्यो, देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागेको छ

ऊर्जामन्त्री कुलमान घिसिङले अब आफूले देशकै कार्यकारी नेतृत्व लिनुपर्ने हो कि भन्ने महसुस हुन थालेको बताएका छन्।

बुधबार ‘उज्यालो नेपाल पार्टी’ को घोषणा सभालाई सम्बोधन गर्दै घिसिङले आफ्नो आगामी राजनीतिक यात्राबारे बोल्दै यस्तो बताएका हुन्।

विद्युत प्राधिकरणको नेतृत्व र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका घिसिङले अबको गन्तव्यबारे सोच्दा देशको नेतृत्व नै विकल्पको रूपमा देखेको जिकिर गरे।

सम्बोधनको क्रममा उनले भने, ‘मलाई पनि कहिलेकाहीँ अब यहाँबाट हिँडेपछि कतै जाने ठाउँ देखिँदैन, त्यसैले अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागिराख्या छ।’

घिसिङले नेपालमा पछिल्लो ७५ वर्षमा १५० भन्दा बढी सरकार बने पनि जनताले चाहेको आर्थिक समृद्धि नआएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाए।

राजनीतिक व्यवस्था परिवर्तन गर्न सजिलो भए पनि आर्थिक व्यवस्थापन गर्न वर्तमान नेतृत्व चुकेको उनको भनाइ थियो।

‘राजनीतिक परिवर्तन धेरै भयो, तर आर्थिक क्रान्ति हुन सकेन,’ उनले भने, ‘अबको आवश्यकता भाषण होइन, नतिजा दिने व्यवस्थापन हो। त्यो अभाव खड्किएको देख्दा अब नेतृत्व लिनुपर्छ भन्ने लागेको हो।’

प्रकाशित: १७ मंसिर २०८२ १६:२३ बुधबार