राजनीति

कुलमानले रोके २ सह-सचिवको विदेश भ्रमण

भौतिक पूर्वाधार एवं यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले भौतिक र सहरी विकासका दुई जना सह-सचिवहरूको विदेश भ्रमण कार्यक्रम अस्वीकृत गरेका छन्।

विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधारका सह-सचिव सुशलीबाबु ढकाल तथा सहरी विकास सहसचिव दिलीप भण्डारी आगामी मङ्सिरको पहिलो हप्ता एक साताका लगी इटली जाने कार्यक्रम तय गरिएको थियो।

उक्त कार्यक्रम मंसिर ६ गते सुरु भई मंसिर १३ गते समापन हुने तालिका छ। सो कार्यक्रममा विपद् व्यवस्थापन प्राधिकरणका उच्च कर्मचारीहरू पनि सहभागी हुने छन्। उक्त विपद् व्यवस्थापन प्राधिकरण कुलमानले नेतृत्व गरेको मन्त्रालयको मातहतमा पर्दैन।

त्यसैले मन्त्री घिसिङले भौतिक र सहरीका कर्मचारीहरूको विदेश भ्रमण कार्यक्रम मात्र अस्वीकृत गरेका हुन्। कानुन अनुसार सह-सचिवहरूको विदेश भ्रमण कार्यक्रमलाई मन्त्री स्तरीय निर्णयबाट स्वीकृत गराउनु पर्छ।

मन्त्री घिसिङको सचिवालयले जनाए अनुसार यति बेला काम गर्नु पर्ने समयमा सानातिना कार्यक्रममा विदेश जान आवश्यक नरहेको भन्दै मन्त्रीले सह-सचिवहरूको विदेश भ्रमण कार्यक्रम अस्वीकृत गरेका हुन्।

‘अहिले रातदिन खटेर काम गर्नु पर्ने बेला छ। यस्तो बेला साना साना कार्यक्रममा पनि किन विदेश जानु पर्‍यो भन्दै उहाँ (मन्त्री) ले दुई जना सह-सचिवहरूको विदेश भ्रमण कार्यक्रम अस्वीकृत गर्नु भएको हो’ सचिवालयमा कार्यरत एक कर्मचारीले भने।

प्रकाशित: २७ कार्तिक २०८२ २०:१४ बिहीबार