राजनीति

कुलमान भन्छन्- हामी अरुलाई प्रधानमन्त्री बनाउन होइन, आफैं प्रधानमन्त्री बन्न आएका हौं

फाइल तस्बिर।

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं मुलुकको कार्यकारी नेतृत्व गर्न चुनावी मैदानमा होमिएको बताएका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै घिसिङले देशको नेतृत्व र आमूल परिवर्तनका लागि आफ्नो पार्टीको विकल्प नभएको उनले जिकिर गरे।

‘प्रधानमन्त्री हामी हुन्छौं, हामी यो देशको नेतृत्व गर्छौं,’ घिसिङले भने, ‘यो देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौं। हामी आफैँ प्रधानमन्त्री भएर यो देशको नेतृत्व र परिवर्तन गर्न आएका हौं।’

घिसिङले अबको चुनावमा भाषण गर्नेलाई नभई काम गरेर नतिजा दिनेलाई जनताले रोज्नुपर्ने बताए। उनले अन्य दलहरूप्रति लक्षित गर्दै सामाजिक सञ्जाल र भाषणको भरमा नभई आफूहरू काम गरेर ‘अर्गानिक’ रूपमा स्थापित भएको दाबी गरे।

‘अबको भोट भनेको डेलिभरी दिनेहरूलाई हो, काम गर्नेलाई हो,’ उनले भने, ‘अरु भनेको भाषण गरेर, सामाजिक सञ्जाल चलाएर स्थापित भएका पार्टी हुन्। हामी डेलिभरी दिएर अर्गानिक रूपमा स्थापित भएको पार्टी हौं। हामी छोटो समयमा आएका छौं तर यो पार्टीले नै देशको नेतृत्व गर्नेछ।’

उनले विगतमा पनि आफूले काम गरेर देखाएको र भविष्यमा पनि परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए। ‘हामीले हिजो पनि डेलिभरी दिएका छौं, आज पनि दिएका छौं र भविष्यमा पनि परिणाम दिनेछौं,’ घिसिङले थपे।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहसँग सहकार्य गर्ने सहमति गरेका घिसिङले एक सातामै उक्त सहमति भंग गरेका थिए। सहमति टुटेसँगै उनी नेतृत्वको उज्यालो पार्टी नेपाल एक्लै चुनावी प्रतिस्पर्धामा होमिएको हो।

प्रकाशित: २२ माघ २०८२ १४:४८ बिहीबार