उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढीले जिल्लाका आम नागरिकको बाँच्ने मुख्य आधार नै समाप्त पारेको बताएका छन्।
शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले बाढीले रसुवाको सामाजिक, आर्थिक तथा मानवीय संरचनामा ठूलो क्षति पुर्याएको बताए। विपद्का कारण रसुवा २० देखि ३० वर्ष पछाडि धकेलिएको र एउटा पुस्ता नै सखाप भएको उनको टिप्पणी छ।
घिसिङले पछिल्लो समय पर्यटन तथा व्यापारको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको रसुवामा रोजगारीका लागि विभिन्न जिल्लाका मानिस पुग्न थालेको उल्लेख गरे। तर, बाढीले जिल्लाको विकास र जनजीवनको त्यही आधारलाई ध्वस्त पारेको उनको भनाइ छ।
‘मैले यति ठूलो विपद् देखेको थिइनँ। यो विपद्को सामाजिक पाटोबाट हेर्ने हो भने रसुवालाई २०–३० वर्ष पछाडि धकेल्यो। एउटा पुस्ता नै यसले सखाप बनाएको छ,’ उनले भने, ‘त्यहाँ यति ठूलो पर्यटन र व्यापारको हब हुन थालेको थियो कि धेरै जिल्लाका मानिसहरू काम गर्न जान थालेका थिए। यस्तो अवस्थामा यो विपद्ले रसुवाका आम जनता जुन आधारमा बाँचिरहेका थिए, त्यो आधार नै सम्पूर्ण रूपमा समाप्त गरेको छ।’
उनका अनुसार बाढीका कारण रसुवाको भविष्य नै संकटमा परेको छ। मानवीय तथा सामाजिक दृष्टिकोणले हेर्दा विपद् रसुवाका लागि अत्यन्त ठूलो भएको उनले बताए।
‘यति ठूलो विपद् मानवीय र सामाजिक दृष्टिकोणले हेर्दा रसुवाका लागि एकदमै ठूलो विपद्का रूपमा आएको छ। जुन अवस्थामा चिलिमे आउनुअगाडि रसुवा थियो, त्यही अवस्थामा पुर्याएको महसुस भएको छ,’ घिसिङले भने।
बाढीका कारण रसुवाका प्राविधिक जनशक्तिसमेत ठूलो रूपमा प्रभावित भएको उनले बताए। चिलिमे जलविद्युत् आयोजना निर्माणका क्रममा छात्रवृत्ति दिएर पढाइएका स्थानीय प्राविधिक जनशक्तिसमेत अहिलेको विपद्बाट प्रभावित भएको उनको भनाइ छ।
‘रसुवाका प्राविधिक मानिसहरू करिब समाप्त नै भएका छन्। चिलिमे बनाउँदै गर्दा हामीले छात्रवृत्ति दिएर पढाएका मानिसहरू पनि थिए। रसुवाको अत्यन्तै दर्दनाक अवस्था देखेर मलाई साह्रै दुःख लागेको छ,’ उनले भने।
घिसिङले रसुवाको जलविद्युत् करिडोरमा धेरै आयोजना रहेकाले त्यहाँको पूर्वाधार र जनजीवनमा विपद्को प्रभाव गम्भीर हुन सक्ने बताए। उक्त करिडोरले यसअघि पनि पटक–पटक विपद् व्यहोरेको उल्लेख गर्दै उनले जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
‘त्यो करिडोरमा धेरै जलविद्युत् आयोजना छन्। त्यो करिडोरले करिब पाँच पटक विपद् व्यहोर्नुपरेको रहेछ,’ उनले भने।
प्रकाशित: २६ भाद्र २०८३ १९:५२ शुक्रबार