राजनीति

कुलमानले भने: अरू दल र नेतालाई गाली गर्न राजनीतिमा आएको होइन

ऊर्जा मन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफू अन्य दल र तीन नेतालाई गाली गर्न राजनीतिमा नआएको टिप्पणी गरेका छन्। शनिवार पार्टीको चितवन जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले आफू अरूलाई गाली गर्न, राजनीति गर्न नभई देश परिवर्तन गर्न राजनीतिमा आएको दाबी गरे। 

देशका ठुला दलले राजनीतिक परिवर्तनमा भूमिका खेले पनि सुशासन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न नसकेका कारण मुलुकमा अहिलेको अवस्था सिर्जना भएको घिसिङले बताए। ‘म अन्य कुनै पनि राजनीतिक दल र तिनका नेताविरुद्ध गाली गलौच र अनावश्यक लान्छाना लगाएर कहिल्यै बोल्दिनँ,’ उनले भने। तर, आफू विरुद्ध भने विभिन्न षडयन्त्र गरेर बदनाम गराउने प्रयास भइरहेको दाबी गरे।

फागुन २१ को निर्वाचनमा जनताले सही पार्टी र नेता छान्ने अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा घिसिङले जोड दिए। त्यस्ता नेता पुराना राजनीतिक दलमा पनि हुने बताउँदै त्यहाँ भएका राम्रा र असल मान्छेलाई जनताले जिताउनुपर्नेमा उनले जोड दिए। 

अहिले दल खोलेर राजनीतिमा आए पनि आफू देश परिवर्तन गर्न मात्रै आएको उनले बताए। उनले अगाडी भने, ‘राजनीति गर्न आएको होइन तर देश परिवर्तन गर्न आएको हो। राजनीति र नेतृत्व फरक छ। देशलाई परिवर्तन गर्न आएको हो।’ 

आफू नेपाल विद्युत् प्राधिकरणमा बसेर कमाएको ख्याति राजनीति गर्दा गुम्न सक्नेमा सचेत रहेको पनि उनले सुनाए।  ‘अब मैले के गर्ने? कि त धार्मिक संस्थामा जोडिएर काम गर्न प¥या,े कि त अरू सामाजिक सङ्घसंस्था बसेर काम गर्नुप¥यो। ती संस्थामा बसेर देशमा ठोस परिवर्तन गर्न सकिँदैन भनेर राजनीतिमा लागेँ,’ घिसिङले भने। 

प्रकाशित: ५ पुस २०८२ १९:२६ शनिबार