उज्यालो नेपाल पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।
पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गरी नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्नुपर्ने बताएका हुन् ।
ज्ञापनपत्रमा स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । स्थानीय सरकारको मुख्य जिम्मेवारी नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नु र विकास निर्माणका काम अघि बढाउनु भएकाले त्यसका लागि गैरदलीय निर्वाचन प्रणाली उपयुक्त हुने पार्टीको तर्क छ ।
उज्यालो नेपालले गैरदलीय निर्वाचनको प्रस्ताव दलीय प्रणालीको विरोध नभएको स्पष्ट पारेको छ । स्थानीय तहको निर्वाचनमा दलगत प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेलको जोखिम बढ्न सक्ने भन्दै पार्टीले गैरदलीय प्रणालीको सम्भाव्यता अध्ययन गर्न माग गरेको छ ।
स्थानीय नेतृत्व चयनमा दलगत प्रभाव कम गर्दै सक्षम, इमानदार र जवाफदेही नेतृत्व स्थापित गर्नु प्रस्तावको मुख्य उद्देश्य रहेको पार्टीले जनाएको छ । त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार अघि बढाउन पनि निर्वाचन आयोगसँग आग्रह गरिएको छ ।
यसैगरी, वैदेशिक रोजगारी, अध्ययन, व्यवसायलगायत प्रयोजनले विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न पार्टीले माग गरेको छ ।
विदेशमा रहेका नागरिकको मतदान अधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक, सुरक्षित र विश्वसनीय मतदान विधिको विकास तथा आवश्यक कानुनी, प्राविधिक र संस्थागत पूर्वाधार तयार गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
उज्यालो नेपालले गैरदलीय स्थानीय निर्वाचनको विषयलाई सार्वजनिक बहसमा मात्र सीमित नराखी नीतिगत निर्णय र कार्यान्वयनको प्रक्रियामा लैजानुपर्नेमा जोड दिएको छ । आगामी स्थानीय तहको निर्वाचनअघि नै आवश्यक अध्ययन, कानुनी संशोधन र कार्यान्वयनका लागि समयबद्ध कार्ययोजना बनाउनसमेत पार्टीले आग्रह गरेको छ ।
संविधानको धारा २४६ ले निर्वाचन आयोगलाई दिएको संवैधानिक जिम्मेवारीलाई ध्यानमा राख्दै निर्वाचन प्रणाली सुधार र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न आयोगले अध्ययन, सरोकारवालासँग परामर्श तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक नीतिगत सिफारिस गर्नुपर्ने पार्टीको माग छ ।
प्रकाशित: ११ कार्तिक २०८३ १७:४७ बुधबार