नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका पेले र केपी ओली इज केपी ओली भन्दै विगतमा चर्को बचाउ गरेका नेता कृष्णगोपाल श्रेष्ठले आफ्नै पुरानो अभिव्यक्ति औपचारिक रूपमा खारेज गरेको घोषणा गरेका छन्।
मंगलबार पार्टी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले २०८२ भदौ २२ सम्म सान्दर्भिक रहेको त्यो दाबी भदौ २३ गतेदेखि नै औचित्यहीन भइसकेको बताए।
अध्यक्ष ओलीकै सामुन्ने बैठकमा आफ्नो अभिव्यक्ति फिर्ता लिएको जानकारी गराउँदै नेता श्रेष्ठले आफू कसैको पेलानमा पर्ने नेता नभएको बताए।
११ औं महाधिवेशनको आन्तरिक प्रतिस्पर्धाबारे बताउँदै उनले भने, ‘एमालेको ११ औं महाधिवेशनमा मलाई हराउन ओलीजीले मेहनत गरेकै हो, मैले पनि उहाँलाई भोट नदिएकै हो।’ व्यक्तिगत रूपमा अध्यक्षप्रति सम्मान यथावत रहे पनि राजनीतिक रूपमा उनी पहिलेको जस्तो नरहेको श्रेष्ठको टिप्पणी थियो।
ओलीलाई पेलेसँग तुलना गर्नुको विगतको पृष्ठभूमि स्मरण गर्दै उनले भने, ‘हिजो संसद् विघटन र पुनर्स्थापनाको परिस्थितिमा पार्टीकै नेताहरूले मार्गप्रशस्त गर्नुपर्छ, नत्र कठालो समातेर फालिन्छ भनेपछि मैले ओलीलाई फुटबलको पेले भनेको थिएँ। २०७८ देखि २०८२ भदौ २२ सम्म त्यसको सान्दर्भिकता रह्यो, तर भदौ २३ देखि २४ हुँदै आजसम्म आइपुग्दा त्यसको औचित्य सकियो।’
नेता श्रेष्ठले गत वर्षको भदौ २३/२४ को जेनजी आन्दोलन प्रतिगमन नभई क्रान्ति नै भएको दाबी गरे। आफ्नै नेतृत्वमा सरकार हुँदा भएको त्यति ठूलो आन्दोलनबारे सूचना नहुनु र तत्कालीन नेकपा जोगाउन नसक्नु पार्टी नेतृत्वको गम्भीर कमजोरी रहेको उनको भनाइ थियो।
पार्टीलाई बलियो बनाउन अब ग्राउन्ड रियालिटी बुझेर नेतृत्व सच्चिनुपर्ने चेतावनी दिँदै श्रेष्ठले भने, ‘हामी सच्चिएनौं भने हामीलाई सकिनबाट कसैले रोक्दैन। लोकप्रिय र बलियो एमाले बनाउन कसले के त्याग गर्नुपर्छ, त्यो महसुस हुनुपर्छ। अध्यक्षकै प्रतिवेदनमा रियलाइजेसनको कुरा आएको छ, त्यो अब व्यवहारमा देखिनुपर्छ।’
बैठकमा आफ्नो धारणा राखेर हिँडेको विषयलाई स्पष्ट पार्दै उनले आफूले बैठक बहिष्कार नगरेको जिकिर समेत गरे।
प्रकाशित: ६ आश्विन २०८३ १६:१९ मंगलबार