राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद केपी खनालले नागरिकको भरोसालाई शब्दमा नभई कर्ममा प्रमाणित गर्ने वाचा गरेका छन्।
बिहीबार प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
उनले शपथ ग्रहणलाई केवल संवैधानिक प्रक्रियाको निरन्तरताका रूपमा मात्र नलिई आम नागरिकको अटुट माया, विश्वास र आकांक्षाहरूको जिम्मेवारी बोकेको पवित्र क्षणका रूपमा लिएको बताएका छन्।
सुदूरपश्चिमलगायत देशभरका नागरिकप्रति कृतज्ञता प्रकट गर्दै खनालले आगामी ५ वर्ष इमानदार, पारदर्शी र उत्तरदायित्वका साथ काम गर्ने अठोट व्यक्त गरेका छन्।
‘तपाईंहरूको हितलाई सर्वोपरि राख्दै, हाम्रा सामूहिक सपनालाई यथार्थमा बदल्ने भगीरथ प्रयत्नमा म समर्पित रहनेछु,’ उनले लेखेका छन्।
सांसद खनालले आफूलाई मतदाताले प्रतिनिधि मात्र नबनाएर दुःखसुख, संघर्ष र परिवर्तनको आकांक्षालाई आवाज दिने जिम्मेवारी सुम्पेको उल्लेख गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘आउनुस्, हामी सबै मिलेर परिवर्तनलाई अब आशामा होइन, वास्तविकतामा बदलौं।’
प्रकाशित: १२ चैत्र २०८२ १५:५१ बिहीबार