नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले कांग्रेसले प्रजातान्त्रिक घर निर्माण गरे पनि त्यस क्रममा धेरै व्यक्ति गुमाएको टिप्पणी गरेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै उनले कांग्रेसले निर्माण गरेको लोकतान्त्रिक वातावरणकै कारण बालेन शाह प्रधानमन्त्री बन्ने अवसर पाएको बताएका हुन् ।
भण्डारीले सामाजिक सञ्जालमार्फत कांग्रेसको राजनीतिक योगदान, पछिल्लो राजनीतिक परिवर्तन र पार्टीको वर्तमान अवस्थाबारे टिप्पणी गरेका छन् ।
‘कांग्रेसले प्रजातान्त्रिक घर बनायो, धेरै व्यक्ति गुमायो । त्यही घरमा बालेन प्रधानमन्त्री बन्ने अवसर पाए,’ उनले लेखेका छन् ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट मैदान निर्माणमा जोड दिएको र अहिले प्रधानमन्त्री बालेन शाहले एनपीएल उद्घाटन गरेको प्रसङ्गसमेत जोडेका छन् । त्यस्तै, बालेनले टुँडिखेलमा दुबो रोपेको र कांग्रेसले स्वच्छ ठाउँमा अधिवेशन सम्पन्न गरेको उल्लेख गर्दै कांग्रेसले भने ‘बिग्रेको दुबो रोप्दै’ गरेको टिप्पणी गरेका छन् ।
भण्डारीले देशलाई जनताका लागि प्रजातान्त्रिक घरका रूपमा चित्रण गरेका छन् । उनका अनुसार यस्तो घरभित्र व्यक्तिका इच्छाअनुसार फरक–फरक कोठा हुन सक्छन् र समय तथा आवश्यकताअनुसार अतिथि आउने–जाने क्रम चलिरहन्छ । तर, सबैको अवसर सुरक्षित रहन घर बलियो हुनुपर्ने उनको भनाइ छ ।
‘प्रजातान्त्रिक घरभित्र व्यक्तिका इच्छाअनुसार कोठाहरू फरक हुन सक्छन् । समय र आवश्यकताअनुसार अतिथि आउन, जान सक्छन्, तर घर बलियो भए मात्र सबैका अवसर सुरक्षित हुन्छन्,’ उनले लेखेका छन् ।
उनले राजनीतिक तिथि र परिस्थिति परिवर्तन भइरहने भए पनि संस्था र विचार जीवित रहनुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित: ९ कार्तिक २०८३ २०:०८ सोमबार