राजनीति

कोशी प्रदेश लगानीको उत्कृष्ट गन्तव्य: अध्यक्ष राउत

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले लगानीकर्ताहरूले अब कम्पनी वा उद्योगको मूल्य केवल नाफा र घाटामा मात्र नभई  सामाजिक उत्तर दायित्व वातावरणीय प्रभाव र सुशासन अभ्यासको आधारमा पनि गर्ने गरेको बताएका छन्  ।

सोमबार  विराटनगरमा आयोजित वातावरणीय, सामाजिक र सुशासन सम्बन्धी सर्वेक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्  । नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने र कोशी  प्रदेश लगानीका आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाई छ। कोशी प्रदेशमा धेरै सम्भावनाहरू भएकाले लगानीका लागि उपयुक्त रहेको राउतले बताए ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विगत केही वर्ष यता पर्यावरण र सामाजिक सुशासनको मर्मसँग मेल खाने गरी कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए।  

नेपाल उद्योग वाणिज्य महासंघ, आईफसी र युरोपियन युनियनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विराटनगरमा वातावरण र सामाजिक सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना  गरिएको हो । कार्यक्रममा आईफसीका यजस्वी श्रेष्ठले आईफसीको परिचय तथा नेपालमा सञ्चालित कार्यक्रमहरूको बारेमा र कार्यक्रमको उद्देश्यबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए  ।कार्यक्रममा कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधि,उद्योग प्रतिष्ठानका सञ्चालकहरू गरी करिब ५० जनाको सहभागिता थियो ।  

प्रकाशित: १७ भाद्र २०८२ ११:३५ मंगलबार