राजनीति

कोशी प्रदेश : सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी प्रदेश प्रमुख खापुङले विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको हो।

प्रदेश सभाबाट पारित भई आएको उक्त विधेयकलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रमाणीकरण गरेको विज्ञप्तिमा उल्लेख छ।

विधेयक प्रमाणीकरण भएसँगै प्रदेशमा सरकारी कामकाजका लागि राष्ट्रिय भाषा नेपालीका अतिरिक्त अन्य १३ वटा राष्ट्रभाषाहरू प्रयोगमा ल्याउने कानुनी बाटो खुलेको छ।

प्रमाणीकरण भएको यो ऐन अब प्रदेश राजपत्रमा प्रकाशन भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक महागुरु फाल्गुनन्द जयन्ती देखि कार्यान्वयनमा ल्याउने प्रदेश सरकारको तयारी रहेको छ। फाल्गुनन्द जयन्ती कार्तिक २५ गते पर्दछ।

यस्तै प्रदेश प्रमुख खापुङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक २०८३ लाई पनि बिहीबार प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 

प्रकाशित: १२ कार्तिक २०८३ १६:३९ बिहीबार