राजनीति

क्यूआरमार्फत पैसा मागेको आरोपमा कोशीका मन्त्रीले भने : मसँग क्यूआर नै छैन

कोशी प्रदेशका पर्यटन, वन र वातावरण मन्त्री सदानन्द मण्डलले आफूलाई क्यूआरमार्फत पैसा मागेको भन्ने आरोपको खण्डन गरेका छन्। आइतबारको प्रदेशसभा बैठकमा मण्डलले आफूले आजसम्म कुनै बैंकबाट क्यूआर नलिएको दाबी गरेका हुन्।  

उनले बैंकबाट क्यूआर कोड नै नलिएको व्यक्तिले क्यूआर पठाएर पैसा मागेको आरोप लगाएर बदनाम गराउने प्रयास मात्र भएको स्पष्ट पारे। उनले आफ्नो नाममा कसैले क्यूआर पठाएर पैसा मागेको भए त्यो व्यक्तिमाथि छानबिन गरी कारबाही अगाडि बढाउन माग गरेका छन्।

आफ्नो बदनाम गराउन झुटो आरोप लगाउनेविरुद्ध पनि कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग आग्रह गरे। उनले आफूमाथि लगाइएको आरोप तथ्यहीन, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहकेन्द्रित रहेको दाबी गरेका छन्। उनले प्रमाण ल्याए कारबाही भोग्न तयार रहेको पनि स्पष्ट पारे। मण्डलले भने, ‘क्यूआरमार्फत पैसा मागेको प्रमाण भए ल्याउनुस्। म कारबाही भोग्न तयार छु।’ 

मन्त्री मण्डलले क्यूआर पठाएको भनिएका व्यक्ति आफ्नो सचिवालयको नभएको, आफूसँग बैंकको क्यूआर नै नभएको र कसैसँग पैसा नमागेको भए पनि नखाएको विषसमेत लगाउने प्रयास गरिएको दाबी गरे। मन्त्री मण्डलले सचिवालयका एक जना व्यक्तिमार्फत क्यूआर पठाएर पैसा माग्ने गरेको भन्दै विभिन्न सञ्चारमाध्यमबाट समाचारहरू प्रकाशित गरिएका थिए। 

प्रकाशित: ११ श्रावण २०८२ १५:३० आइतबार