व्यवसाय गर्न चाहने, व्यवसाय विस्तार गर्न चाहने तर, धितो नभएका कारण ऋण नपाएर समस्यामा परिरहेका युवा तथा उद्यमीहरूलाई कोशी प्रदेश सरकारले विना धितो ८ अर्ब रुपैयाँको ऋण उपलब्ध गराउने भएको छ । कोशी प्रदेश सरकारले आर्थिक विकासका लागि नवप्रवर्धन परियोजना र उद्यमशीलताको प्रवद्र्धनको लागि उदय परियोजना मार्फत विभिन्न बैंकबाट करिब ८ अर्ब रुपैयाँ ऋण लगानी गर्ने तयारी गरेको हो ।
स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा उदय परियोजना मार्फत नयाँ साना तथा मझौला उद्यम गर्न चाहनेलाई विनाधितो ऋण लगानी गर्न लागिएको कोशी प्रदेश सरकारले जनाएको छ । यो लगानीका लागि ग्लोबल आइएमइ बैंक र राष्ट्रिय वाणिज्य बैंक सँग बिहीबार इटहरीमा सम्झौता गरिएको छ । प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोषमा आबद्ध हुनका लागि निक्षेप तथा कर्जा सुरक्षण कोष र साझेदार बैंकहरु बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्दै यसले देशको कुल ग्राहस्थ उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए । कोशी प्रदेश सरकारको अथक मेहनत र प्रयासपछि सुरु हुन लागेको यो परियोजनाबाट लाभ लिन नव युवाहरूलाई मुख्यमन्त्री कार्कीले आग्रह समेत गरे । पालिका र वडामा नयाँ नयाँ रिसर्च गरेर त्यसको सम्भाव्यता अध्ययन गरी नयाँ क्षेत्रमा लगानी गर्ने उद्यमीलाई पनि यो परियोजनाले सहयोग पुग्ने उनले बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बिदुरकुमार लिङ्गथेपले यसबाट कोशी प्रदेशको आर्थिक समृद्धि र विकासमा ठूलो टेवा पुग्ने धारणा राखे ।
यो सम्झौतापछि स्विस सरकारले ३० करोड र प्रदेश सरकारले ३० करोड गरेर ६० करोडको ग्यारेन्टी फण्ड राखिनेछ । त्यस्तै १४ करोड प्रदेश र १४ करोड स्विस सरकारको सहयोगमा च्यालेन्जिङ फण्ड पनि राखिने छ । यो योजना लागु भएपछि कुनै पनि नयाँ उद्यम गर्न चाहने व्यक्तिले यी बैंकबाट ३० लाखदेखि ३ करोड सम्म ऋण पाउनेछन् । यो प्रक्रियाबाट जाने ऋणमा बैंकले विना धितो पनि ऋण प्रवाह गर्नेछ । कतिपय अवस्थामा यो परियोजना मार्फत आएका व्यक्तिले यदि आफ्नो धितो बैंकले चाहेको भन्दा थोरै मात्रै पु¥यायो तर उसको परियोजना राम्रो लाग्यो भने सरकारको ग्यारेन्टीमा लगानी गर्न सक्ने समेत यसको मुख्य विशेषता रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख रमेश घिमिरेले जानकारी दिए । यो परियोजना मार्फत आउने उद्यमीलाई परियोजनाका लागि आवश्यक सहजीकरण र ऋण लिनका लागि परियोजनाले सहयोग गर्नेछ ।
प्रकाशित: १९ चैत्र २०८२ १९:५९ बिहीबार



