कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी समावेश हुने विषयमा दुई दलका नेताहरूका बीचमा भएको छलफल निष्कर्षबिहीन भएको छ ।
सोमबार नेकपा र एमालेका नेताहरूबीच विराटनगरमा भएको छलफल निर्णयमा पुग्न सकेन ।
कोशी प्रदेश सरकारमा सहभागी हुन नेकपाले ४ वटा मन्त्रालय मागेको भए पनि एमालेले ३ वटा मात्रै मन्त्रालय दिने अडान राखेपछि सोमबारको छलफल निष्कर्षबिहीन भएको हो ।
यता नेपाली कम्युनिष्ट पार्टी कोशीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले मन्त्रालय बाँडफाँडको विषय सहमति नजिक पुगेको दाबी गरेका छन् । सोमबारको बैठकले सरकारमा सहभागिताका लागि तीनवटा निर्णय गरेको आङ्वोले जानकारी दिए ।
सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन ७ सदस्यीय समिति गठन गर्ने, बजेट पुरनावलोकन गर्ने र प्रदेशको पुनः नामाङ्कन गर्ने विषयमा अन्य दलहरूसँग पनि छलफल गर्ने दुई दलवीच सहमति भएको आङ्वोले बताए ।
उनले मन्त्रालय बाँडफाँटको विषय टुंग्याउन दुबै दलका संसदीय दलका नेताहरूलाई बैठकले जिम्मा दिएको जानकारी दिए । मङ्गलबार दुबै दलका संसदीय दलका नेताहरूको बैठकले कुन दलले कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गर्ने आङ्वोले बताए ।
‘मन्त्रालय बाँडफाँडको विषय बाहेक सबै विषय मिलिसक्यो’ उनले भने ‘मंगलबार दुबै दलका नेता बसेर कुन दलले कुन–कुन मन्त्रालय लिने भन्ने विषय पनि टुंगो लगाउँछौं ।’
केन्द्रले साउन ९ गते नै कोशी प्रदेशमा नेकपा र एमालेको सरकार गठन गर्ने सहमति गरेको भए पनि कोशी प्रदेशमा एमाले भित्र को मुख्यमन्त्री बन्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको थिएन।
एमालेले तत्कालका लागि हालकै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने निर्णय गरेपछि नेकपा र एमालेले नयाँ सरकार गठनका लागि छलफल थालेका हुन् ।
प्रकाशित: २५ श्रावण २०८३ २०:५२ सोमबार



