नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ। कांग्रेस कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी भने विश्वासको मतमा तटस्थ बस्ने भएको छ। पार्टीले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगर्ने निर्णय गरेको राप्रपा संसदीय दलले जनाएको छ।
मुख्यमन्त्री कार्कीले सोमबार तेस्रो पटक विश्वासको मत लिँदैछन्। कांग्रेससँगको गठबन्धन टुटेपछि कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो। कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।
कोशी प्रदेश सभामा ९२ सदस्य छन्, जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन्।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन्। नेकपाका १७ र एमालेका ४० सांसद गरी मुख्यमन्त्रीको पक्षमा ५७ जना सांसदको समर्थन भएकाले प्रदेश सभामा सहजै विश्वासको मत पाउने देखिएको छ।
प्रकाशित: ८ भाद्र २०८३ १४:१७ सोमबार