राजनीति

महिला उद्यमी लक्षित बजेट विनियोजन गर्ने कोशीका मुख्यमन्त्रीको प्रतिबद्धता

कोशी प्रदशेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमी लक्षित बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार विराटनगरमा आयोजित महिला नेतृत्व सम्मेलनलाई सम्बोधन गर्दै मुख्यान्त्री कार्कीले प्रदेश सरकारले महिला उद्यमी लक्षित बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  

मुख्यमन्त्री कार्कीले देशको आर्थिक अवस्थामा सुधार ल्याउन महिलाहरूलाई आर्थिक रुपमा सवल बनाउन आबश्यक रहेको बताए । उनले महिला उद्यमीहरूलाई लक्षित गरेर आगामि बजेटमा प्रदेश सरकारले निती र बजेटको व्यवस्था गर्ने स्पष्ट पारे । ‘ महिला उद्यमीलाई प्रोत्साहन हुने गरी आबश्यक निती र बजेटको व्यवस्था गर्न प्रदेश सरकार तत्पर छ ’ कार्कीले भने ‘त्यसका लागि कस्तो निती र बजेट चाहिन्छ तपाइँहरू सुझाव दिनुहोस् ।’ मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कोशी प्रदेशका महिला उद्यमीलाई लक्षित गरेर यस अघि पनि नितीगत रुपमा बजेटको व्यवस्था गरेको जानकारी दिए  ।

कार्कीले कोशी प्रदेश सरकार मातहतका कर्मचारीको पोशाक भत्ता सांढे ५ हजार रुपैयाँले बढाएर यस प्रदेशका महिलाहरूले उत्पादन गरेको ढाकाका कपडा हप्तामा कम्तीमा एक दिन लगाउनै पर्ने व्यवस्था गरिएको कार्कीले बताए । प्रदेश सरकारको नीतिका कारण कोशी प्रदेशमा तानबाट कपडा बुन्ने करिब २ सय महिला उद्यमीहरू लाभान्वित भएको कार्कीको दाबी छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले कृषि उद्यमीहरूलाई लक्षित गरेर १५ लाख रुपैयाँ सम्मको व्याज अनुदानमा कर्जा उपलब्ध गराई रहेको जानकारी पनि दिए । यस्तै यसै वर्ष देखि सुरू भएको उदय परियोजना  मार्फत व्याज अनुदान र विनाधितो ऋणमा ३० लाख देखि २ करोड रुपैयाँ सम्मको सहुलियत कर्जा पनि प्रदेश सरकारले प्रदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताए । उनले काम गर्न चाहने कोशी प्रदेशका महिलाहरूले प्रदेश सरकारले दिएको अवसरबाट लाभ लिन आग्रह गरे ।

कार्यक्रममा  गोल्याण ग्रुपका अध्यक्ष पवन गोल्याणले महिलाहरूलाई शिक्षा, नेतृत्व र निर्णय प्रक्रियामा समान सहभागिता आबश्यक रहेको धारणा राखे । उनले आफ्ना उद्योगहरूमा ५० प्रतिशत भन्दा बढी महिलाहरू कार्यरत रहेको बताए । उनले सबै उद्योगमा २० प्रतिशत भन्दा बढी महिललाई काम दिन उद्योगीहरूलाई आग्रह गरे । उनले नेपालका किसानले उत्पादन देखि बजारसम्म आफैं गर्ने र एउटै किसानले आफूलाई आबश्यक पर्ने सबै बस्तु उत्पादन गर्ने परम्परागत सोचका कारण कृषि क्षेत्र व्यवसायीक हुन नसकेको टिप्पणी गरे । उनले अन्य पेशा जस्तै कृषि पेशा पनि व्यवसायिक हुन उत्पादन गर्नेले उत्पादनका काम मात्रै गर्ने, प्रशोधन गर्नेले प्रशोधन मात्रै र बजारीकरण गर्नेले बजारीकरण मात्रै गर्न आबश्यक रहेको बताए ।

उनले भने‘वकिलले वकालत मात्रै गर्ने, शिक्षकले पठनपाठन मात्रै गर्ने गरेजस्तै कृषि क्षेत्र पनि विशिष्टिकृत  र व्यवसायिक हुन आबश्यक छ ।’ नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले महिला उद्यमशिलता भने व्यवसाय थाल्ने काम मात्रै नभई महिलालाई आर्थिक रुपमा सवल बनाउनुपनि भएको बताए । उनले आफ्ना उद्योगहरूमा कम्तीमा २० प्रतिशत  महिलालाई रोजगारीको सुनिश्चितता गर्ने प्रतिबद्धता पनि जनाए । महिला उद्यमी  तथा सांसद विदुषी राणाले संविधानमा भएको महिला सहभागिताको अधिकार आर्थिक क्षेत्रमा पनि सुनिश्चित गर्न सरकारलाई आग्रह गरिन् । उनले महिलाहरूलाई विनाधितो ऋण, पैतृक सम्पत्तीमा अधिकार सुनिश्चित गर्नुपर्ने बताईन् । राणाले हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत नभई ५० प्रतिशत सुनिश्चितताको व्यवस्था हुनुपर्ने धारणा राखिन् । 

प्रकाशित: २१ वैशाख २०८३ १४:५८ सोमबार