राजनीति

पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया तयार

परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबिच भेट भएको छ।

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा दुई मन्त्रीबिच भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी तथा जारी खोज, उद्धार र राहत कार्यबारे छलफल भएको थियो।

सो अवसरमा मन्त्री खनालले नेपालको बाढी प्रभावित क्षेत्रमा अन्तर-निकाय द्रुत प्रतिक्रिया टोली र कोरिया विपद् राहत टोली (केडीआरटी) पठाएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गरेको मन्त्रालयले जनाएको छ। उनले मानवीय सहयोग र राहत सामग्री उपलब्ध गराएकोमा पनि प्रशंसा गरेका थिए।

नेपालको अर्को प्राथमिकता लचिलो, टिकाउ र राम्रो पूर्वाधार निर्माण रहेको उल्लेख गर्दै खनालले यसमा कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन्।

जवाफमा विदेशमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया सरकार तयार रहेको बताए। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले बेहोर्नुपरेको क्षतिको ऐतिहासिक जिम्मेवारी विश्व समुदायको रहेको बताउँदै नेपाल र कोरियाले कोपजस्ता विश्वव्यापी मञ्चमा जलवायु परिवर्तनको प्रभावबारे अन्य देशलाई सचेत बनाउन मिलेर काम गर्नुपर्नेमा जोड दिए।

उनले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका लागि पनि कोरियाले आवाज उठाउने बताए।

दुवैले लामो समयदेखिको मित्रता, पारस्परिक विश्वास र सहयोगमा आधारित द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र नयाँ उचाइमा पुर्‍याउन नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

विदेशमन्त्री ह्युन भोटेकोशी बाढीमा कोरियाका नौ जना सम्पर्कविहीन छन्, उनीहरूको अवस्थाबारे जानकारी लिन विदेशमन्त्री नेपाल आएका हुन्।

प्रकाशित: २१ भाद्र २०८३ १३:२९ आइतबार