राजनीति

किशोरसिंह राठौरको प्रस्ताव: ..त्यसो भए कार्यसमिति भंग गरौँ, जेन–जीलाई नेतृत्व सुम्पौँ

हेपिनुहुन्न! विशेष महाधिवेशनमा जाऔँ

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्री किशोरसिंह राठौरले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध आक्रोश पोखेका छन्। बिहीबार सहमहामन्त्री राठौरले पाँच बुँदामा आफ्नो धारणा राख्दै महामन्त्रीद्वयविरुद्ध आक्रोश पोखेका हुन्। 

पहिलो बुँदामा राठौरले जेन–जीको प्रदर्शनपछि देश अप्ठेरो अवस्थामा रहेको कुरा उठाएका छन्। ‘त्यसको प्रत्यक्ष प्रभाव देशको सबैभन्दा ठुलो र लोकतान्त्रिक हाम्रो पार्टी नेपाली कांग्रेसमाथि परेको छ,’ उनले भने,‘देश जलेको बेला पार्टी एक ढिक्का हुनुपर्छ।’ 

यस्तै उनले ‘अहिलेको संकट समाधानको उत्तम बाटो निर्वाचन नै रहेको’ बताउँदै पार्टी एक ढिक्का भएर निर्वाचनमा जानुपर्ने प्रस्ताव राखेका छन्। 

तेस्रो बुँदामा उनले आन्तरिक निर्वाचनका कारण पार्टीले आमनिर्वाचनहरूमा पटक पटक क्षतिको सामना गर्नुपरेको समीक्षा सुनाएका छन्। ‘हामीले आफूलाई लोकतान्त्रिक पार्टी भने पनि तद्अनुरुप लोकतान्त्रिक संस्कार विकास गर्न नसक्दा आफ्नाले आफ्नैलाई हराउने परिपाटीले जरा गाडेको छ,’ उनले भनेका छन्, ‘त्यसले हाम्रो जनमत खुम्च्याउँदै लगेको छ।’ 

अहिले संकटका बेला पार्टीलाई एक ढिक्का बनाएर निर्वाचनमा जाने र निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने उनले प्रस्ताव राखेका छन्। महाधिवेशनको निर्णय गर्दा सकेसम्म सर्वसम्मत गर्नुपर्ने उनको प्रस्ताव छ। ‘नभए लोकतान्त्रिक अभ्यास त छँदै छ’ भनेर बहुमतबाटै भए पनि केन्द्रीय समिति उक्त निर्णयमा पुग्नुपर्ने उनले औँल्याएका छन्। 

‘होइन, निर्वाचनअघि नै महाधिवेशन गर्नै पर्छ भन्ने हो भने विशेष महाधिवेशनमा जाऔँ,’ राठौरले प्रस्ताव गरे। त्यसको कारणमा उनले कार्यसमितिबाहिर भएकाहरूले विशेष महाधिवेशन माग गर्नु अस्वाभाविक नभएको बताएका छन्। ‘तर कार्यसमितिमै भएकाहरू, त्यसमाथि पदाधिकारीहरूबाटै विशेष महाधिवेशनको माग हुन्छ भने विशेष महाधिवेशनमा जान खुट्टा कमाउनु हुँदैन,’ उनले भने। यस्तो अवस्थामा आफू विशेष महाधिवेशनको पक्षमा रहेको उनले जिकिर गरे। उनले अगाडि भने, ‘हामी जनताबाट, कार्यकर्ताबाट अनुमोदित भएर आएका हौँ। कसैले हेप्न खोज्छ भने हेपिनु हुँदैन। म हेपिन्न।’ 

यस्तै पाँचौँ बुँदामा राठौरले महामन्त्री द्वय लक्षित गर्दै ‘पदाधिकारीबाटै नालायक हौँ’ भन्ने कुरा आएको भन्दै कटाक्ष गरेका छन्। 

‘हामी कांग्रेसका नेता नालायक छौँ–हौँ, भनेर जिम्मेवार केही पदाधिकारीहरूबाटै कुरा आएको छ,’ राठौरले अगाडि भने, ‘किनभने जो मुख्य जिम्मेवार भूमिकामा छ उसैले नेतृत्व नालायक भयो भन्नुको अर्थ आफूसमेत नालायक भनेको हो।’ 

यद्यपि त्यो सही नभएको उनले बताए। ‘म त्यो कुरा मान्दिनँ। तर हो कि हो भनेर कराउँदैमा समस्या समाधान हुन्छ भन्ने लाग्छ भने कार्यसमिति भंग गरौँ र एउटा जेन–जीलाई नेतृत्व सुम्पौँ,’ राठौरले भने। 

प्रकाशित: २७ कार्तिक २०८२ १६:४० बिहीबार