राजनीति

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको शपथ, साढे तीन वर्षमा पाँचौँ सरकार

नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। नियुक्तिपछि प्रदेश प्रमुख मियाँले नै उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीचको समीकरणमा नयाँ सरकार गठन भएको हो।

सत्ता साझेदारीका क्रममा माओवादी केन्द्रले चार र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको थियो। सोहीअनुसार एमालेबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलकी उपनेता सन्तोषी कुमारी थापा सामाजिक विकासमन्त्री, प्रदेश सभा सदस्य चक्रबहादुर मल्ल आर्थिक मामिलामन्त्री र प्रदेश सभा सदस्य दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन्। जानकी ऐर आर्थिक मामिला राज्यमन्त्री बनेकी छन्। उनीहरूलाई पनि शुक्रबार प्रदेश प्रमुख मियाँले पद तथा गोपनीयताको शपथ गराएका छन्।

यसअघि बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले दिएको राजीनामा प्रदेश प्रमुख मियाँले स्वीकृत गरेका थिए। राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुखले शुक्रबार बिहान ११ बजेसम्म नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

बजेट विवाद उत्कर्षमा पुगेपछि नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन टुटेको थियो। गत असार ३१ गते एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए।

केन्द्रीय तहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साउन ९ गते भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाएको हो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका २२, नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना सांसद छन्। पूर्वमुख्यमन्त्रीसमेत रहेका माओवादी केन्द्रका दीर्घबहादुर सोडारी निलम्बित छन् भने कांग्रेसका प्रकाशबहादुर देउवा लामो समयदेखि अमेरिका रहेका छन्। डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित डा. तारा जोशीले राजीनामा दिएकाले प्रदेश सभाको एक सिट रिक्त छ।

साढे तीन वर्षमा पाँचौँ सरकार

२०७९ मंसिर ४ गते भएको निर्वाचनपछि कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन नसकेको सुदूरपश्चिम प्रदेशमा साढे तीन वर्षमै पाँचौँ सरकार गठन भएको छ।

निर्वाचनअघि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले चुनावी सहकार्य गर्दै निर्वाचन क्षेत्रमा भागबन्डा गरेका थिए। उक्त गठबन्धन कायम रहेको भए तत्कालीन माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका भट्ट मुख्यमन्त्री बन्ने सम्भावना थियो। तर केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल पहिलो मुख्यमन्त्री बने।

२०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि माघ २६ गते राजीनामा दिए। उनलाई समर्थन गरेको तत्कालीन नागरिक उन्मुक्ति पार्टीका सात सांसद विश्वासको मत दिने दिन अनुपस्थित भएपछि रावल नेतृत्वको सरकार एक महिनामै ढलेको थियो।

रावलको राजीनामापछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भए। केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि शाहले विश्वासको मत प्राप्त गरेका थिए।

पछि सत्ता गठबन्धनमा फेरबदल हुँदा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा परे र उनले राजीनामा दिए। त्यसपछि एमालेको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी २०८१ वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भए। एमालेले समर्थन फिर्ता लिएपछि सोडारीले तीन महिनामै विश्वासको मत गुमाए र साउन १८ गते उनको सरकार ढल्यो।

त्यसपछि २०८१ साउन २० गते एमालेको समर्थनमा कांग्रेस नेता कमलबहादुर शाह दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए। पछिल्लो सत्ता समीकरण परिवर्तनसँगै शाहले राजीनामा दिएपछि भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।

भूमिगत राजनीतिदेखि मुख्यमन्त्रीसम्म

खगराज भट्टको जन्म वि.सं. २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा पिता स्वर्गीय रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिला सुपुत्रका रूपमा भएको हो। उनले आईएल तहसम्मको शिक्षा हासिल गरेका छन्।

भट्टले वि.सं. २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए। वि.सं. २०५० असोजदेखि उनी पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय भए। उनी अखिल क्रान्तिकारीमा समेत सक्रिय थिए।

माओवादी आन्दोलनमा आबद्ध भएर संगठन विस्तारमा सक्रिय रहेका भट्टलाई वि.सं. २०५२ फागुन २४ गते पक्राउ गरिएको थियो। राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दामा उनलाई २०५३ पुस ८ गतेसम्म जेलमा राखिएको थियो।

सशस्त्र द्वन्द्वका क्रममा भूमिगत रहेका भट्टले माओवादी संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सोही क्रममा उनका दाजु जयराज भट्टको समेत मृत्यु भएको थियो।

भट्टले डडेल्धुराबाट नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग वि.सं. २०६४, २०७० र २०७४ मा गरी तीन पटक निर्वाचन प्रतिस्पर्धा गरेका थिए। भूमिगत राजनीतिक यात्राबाट अघि बढेका भट्ट अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन्।

प्रकाशित: २९ श्रावण २०८३ १६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App