राजनीति

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का : पहिलो पार्टी बनाउने प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन्।

प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै खड्का निर्वाचित भएका हुन्। निर्वाचनमा खड्काले ४२ मत तथा चन्दले ३० मत प्राप्त गरे। कुल ११३ जना मतदाता रहेकामा ७३ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ।

उपसभापतिमा २२ मत प्राप्त गरी रिमप्रसाद शर्मा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २० मत प्राप्त गरेका थिए।

त्यस्तै, सचिव पदमा दीपेन्द्रराज विष्टले ५८ मत र निकट प्रतिस्पर्धी नवराज मल्ले १४ मत पाएको निर्वाचन समितिले जनाएको छ। सहसचिवमा प्रेम बाँठा मगर तथा सदस्यमा नीरज गिरी, यामराज डाँगी, लोकबहादुर गिरी, विनोद बटाला र रमेश गिरी विजयी भएका छन्।

त्यस्तै, महिला सदस्यमा कल्पना विष्ट र सुनिता केसी निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्दले शपथ दिलाए। 

नवनिर्वाचित सभापति खड्काले जिल्लामा रास्वपालाई पहिलो पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २५ जेष्ठ २०८३ १४:१४ सोमबार