राजनीति

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेलाई खड्काको बधाई

नेपाली कांग्रेसका नेता एवं निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका निवर्तमान सह-महामन्त्री भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा निर्वाचित भएकोमा बधाई दिएका छन्।

आङ्देम्बे सर्वसम्मत रूपमा संसदीय दलको नेता चुनिएपछि खड्काले मंगलबार सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिएका हुन्।

उनले भनेका छन्, ‘मेरा मित्र- प्रिय भाइ मा. भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकोमा हृदयदेखि नै हार्दिक बधाई सहित कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।’

वर्तमान संसद्‌मा नेपाली कांग्रेस दोस्रो ठुलो दलका रूपमा रहेकाले आङ्देम्बेको भूमिका अझ जिम्मेवार हुने खड्काले उल्लेख गरेका छन्। उनले अगाडि भनेका छन्, ‘यसपटककाे संसद्को संरचनामा नेपाली काँग्रेस दोस्रो ठुलो राजनीतिक दलको रूपमा उपस्थित भएकोले संसद्को समग्र प्रक्रियामा उहाँको भूमिका प्रमुख प्रतिपक्ष दल नेताको हैसियतमा ऐतिहासिक र महत्त्वपूर्ण रहनेछ। संवैधानिक परिषदको सदस्यको रूपमा उहाँको भूमिका थप प्रभावकारी र महत्त्वपूर्ण हुनेछ।’

संसदीय दलको नेताका रूपमा आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलको नेतृत्व गर्दै संवैधानिक परिषद्मा समेत महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने उनले बताए।

प्रकाशित: १५ वैशाख २०८३ १४:२६ मंगलबार